काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड १९) को कुनै संक्रमण नरहेको बताएका छन्। उनले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको पनि जानकारी दिए ।
आइतबार कोरोनाभाइरस विरुद्ध सार्क सहकार्यः भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले रोग भित्रन नदिन सरकारी संयन्त्र ‘अलर्ट’ रहेको जानकारी दिए ।
उनले कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको बताए।
यस्तै उनले सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पनि जानकारी दिए।
उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले पर्याप्त सावधानी अपनाएको भन्दै सीमा नाकाबाट तेस्रो मुलुकका नागरिकलाई प्रवेश प्रतिवन्ध लगाइएको पनि जानकारी गराए।
स्वास्थ्यका कर्मचारीलाई सुरक्षित उपकरणको व्यवस्था गरिनुका साथै विमानस्थलमा स्कृनिङका साथै अन्य स्वास्थ्य परीक्षणको व्यवस्था गरेरमात्रै भित्रन दिने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए।
उनले यसवर्षको आरोहण रद्द गरिएको पनि बताए। सो क्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबै सार्क मुलुकलाई धन्यवाद दिएका थिए।