७० करोड काण्डमा मुछिएका बास्कोटाको घरमा नेकपाको बम



काठमाडौँ। निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मन्त्री बास्कोटाको घरमा बम विस्फोट गराइएको खुलेको हा। भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले प्रारम्भिक अनुसन्धान गर्दा रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको खुलेको बताए।

‘घरको कम्पाउन्डभित्र प्रेसर कुकर बम राखेर रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको देखिएको छ,’ भक्तपुर प्रहरी प्रमुख प्रधानले भने। प्रधानका अनुसार, घटनास्थलमा एक झोला पनि भेटिएको छ। जसभित्र प्रेसर कुकरका टुक्रा र विष्फोटमा प्रयोग हुने सामग्रीहरु छन्।

एसपी प्रधानका अनुसार, बास्कोटानिवासमा आक्रमण हुने अनुमान प्रहरीले पहिल्यै गरेको थियो। त्यसैले अडियो काण्डपछि प्रहरीले बास्कोटा निवाससँगै वरिपरि सुरक्षा सतर्कता बढाएको थियो। तथापि, बुधबार बिहान विस्फोटको घटना भएको प्रधानले बताए।

‘पूर्वमन्त्री गोकुल बास्कोटाज्यूको निवासमा कुनै घटना हुने पूर्वानुमान हामीलाई थियो,’ एसपी प्रधानले सञ्चारकर्मीसँग भने, ‘यही अनुमानका आधारमा हामीले मन्त्रीज्यूको निवास र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएका थियौं।’

सुरक्षासतर्कताबीच कसरी विस्फोटको घटना भयो ? भन्नेबारे भने उनले केही खुलाएनन्। पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बुधबार बिहान ७ः४५ बजे बम विस्फोट भएको थियो।

विस्फोटबाट बास्कोटाको घरको कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा क्षति पुगेको छ। विष्फोटपछि सो क्षेत्रमा सेना र प्रहरीको टोली पुगेर अनुसन्धान जारी राखेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि घटनास्थलको निरीक्षण गरेकी छन्।