काठमाडौँ। कोभिड – १९ सङ्क्रमणको कारण मंगलबारसाँझसम्म ४ हजार ९१ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस भाइरसबाट एक लाख १६ हजार ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ। यसमध्ये ६४ हजार ७५० जना निको भएर घर फर्किएका छन्।
बङ्गलादेश, अल्बानिया र पाराग्वे तीन ओटा नयाँ देशमा कोभिड–१९ का संक्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। गत वर्षको अन्त्यबाट यस भाइरसको सङ्क्रमण शुरु भएको चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभरी यस रोगबाट मृत्यु भएपछि तीन हजार १३६ पुगेको जनाइएको छ।
गत २४ घण्टा यी तीन देशमा कोरोना भाइरस संक्रमण फैलिएको डब्लुएचओले सोमबार प्रकाशित एक विज्ञप्तिमा जनाएको छ। गत २४ घण्टामा विश्वभरी तीन हजार ९ सय ९३ मा भाइरसको थप संक्रमण देखिएको डब्लुएचओले जानकारी दिएको छ। इटालीमा यस भाइरसको संक्रमणपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या ४ सय ६३ पुगेको जनाइएको छ। त्यसैगरी दक्षिण कोरियामा सात हजार ५ सय १३ जना संक्र्रमित रहेका र ५४ जनाको मृत्यु भएको जनाइएको छ।
यसैबीच इरानमा ७ हजार १ सय ६१ जना संक्र्रमित रहेका र २ सय ३७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ। विश्वका विभिन्न तथ्यांङ्कबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेको सङ्ख्या ९४ प्रतिशत रहेको छ।
घातक कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या भारतमा ४७ पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। मङ्गलबारसम्म ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको एएनआईले जनाएको छ। उनीहरुमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीहरुले बताएका छन्।
अमेरिकामा भाइरस संक्रमणका कारण हालसम्म २७ जनाको मृत्यु भयसकेको छ। सात सय २९ जना संक्रमित छन्। उता जर्मनीमा भने संक्र्रमितको संख्या एक हजार नाघेको छ। रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार एक सय १२ जना संक्रमित भएको जनाएको छ। यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन्। बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या तीन सय १९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
जापानमा भने मृत्यु हुनेहरूको संख्या सोमबारसम्म १६ पुगेको छ। संक्र्रमितको संख्या पाँच सय पाँच पुगेको छ। जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओशाकामा ५५ जना बिरामी रहेको जनाएका छन्।
त्यसैगरी बेल्जियममा संक्र्रमितको संख्या दुई सय ३९ पुगेको छ भने हङ्कङमा एक सय १५ प्यालेस्टाइनमा २५, मलेसियामा एक सय १७, कुवेतमा ६५ र इन्डोनेसियामा १९ जनामा कोरोना भाइरसको संक्रमितभएको पुष्टि भएको छ। कोरियामा रहेका आठ जना अमेरिकी सैनिकलाई पनि कोरोनाको सङ्क्रमण भएको छ । त्यसैगरी, दुवईमा दुईजना नेपाली र अष्ट्रेलियमा एकजना नेपालीमा पनि संक्रमण देखिएको छ।