‘विकासमा विचौलिया हाबी’



रुकुम पश्चिम। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा विचौलिया हाबी भएको बताएका छन्। विकासका लागि दिइने बजेट, माग गरिने योजनामा स्वार्थसिद्धिका लागि लाग्नेहरु घुसेका कारण अपेक्षाकृत विकास हुन नसकेको मुख्यमन्त्री शाहीको भनाइ छ।

रुकुम पश्चिमको जिल्ला सभा तथा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको बाधक भनेको योजना माग्‍ने र दिनेहरु नै देखिएको दाबी गरे। ‘योजना माग्‍नेले कुनै प्लान, स्टिमेट मागेको छ,’ उनले भने, ‘बजेट र योजना दिनेले पनि त्यतापट्टि ध्यान नदिएर योजना हाल्ने गरेकै कारण समस्या देखिएको छ।’

योजना र बजेट दिने त्यसको प्रभावकारी अनुगमन नहुँदा पनि समस्या भएको मुख्यमन्त्री शाहीले बताए। कान्तिपुरका अनुसार योजना र बजेट मागिएको ठाउँको अनुगमन गर्दा कतै योजना नै नभएको कतै थोरै मात्रै काम गरेर अलपत्र छाडिएको पाइएको उनको भनाइ छ। कतै कम लगानीमा बन्नुपर्ने योजनमा पनि धेरै बजेट मागगर्ने र दिने गरेको समेत पाइएकोमुख्यमन्त्री शाहीको भनाइ छ।