आगामी असोजसम्म धरहराको निर्माण कार्य सम्पन्न हुने



काठमाडौँ। २०७२ साल बैशाख १२ गते गएको भूकम्पले भत्काएको ऐतिहासिक धरहराको पुनर्निर्माण कार्य ०७७ असोज महिनाभित्रमा सक्ने गरी काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार नौ तलाको काम जारी छ। हालसम्मको ३३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने ८५ करोड खर्च भएको छ।

दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहरा पुनर्निर्माणको जिम्मा पाएको थियो। जम्मा तीन अर्ब ४८ करोड खर्च हुने जनाइएको छ।

धरहरामा दुईवटा लिफ्ट पनि हुनेछन्। साथै एउटा परम्परागत भर्याङ रहनेछ। लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ। ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ।

बगैंचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्। गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ। उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन्।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ। पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुन: निर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।