काठमाडौँ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्किने सन्देश दिएका छन्।
ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आएको भन्दै छिट्टै काममा फर्किने बताएका हुन्। शुक्रबार आफ्ना सचिवालयका सदस्यसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले छिट्टै काममा फर्किने सन्देश दिएका हुन्।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शल्यक्रियापछि पहिलो पटक प्रधानमन्त्रीसँग कुराकानी गर्ने अवसर भएको भन्दै आफ्नो सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो। साथीहरूलाई भनिदिनूस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। छिट्टै म काममा फर्किन्छु।’
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार आएको छ।