प्रचण्डलाई जुत्ता हान्ने तिरुवा सहिद परिवारका सदस्य भएको पुष्टि



काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवा सहिद परिवारका सदस्य रहेको पुष्टि भएको छ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको संयोजकत्वमा गठित छानबिन समितिले जुत्ता प्रहार गर्ने तिरुवाका बुवा मोहन तिरुवा २०५६ सालमा सुरक्षाकर्मीबाट मारिएको पुष्टि भएको छ । फागुन १८ गते राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा भाषण गरिरहेका पूर्वप्रधानमन्त्री दाहाललाई तिरुवाले ताकेर जुत्ता प्रहार गरेका थिए । तर, सुरक्षाकर्मीको सावधानीका कारण प्रहार गरिएको जुत्ताले दाहाललाई लाग्‍न पाएको थिएन ।

‘जुत्ता प्रहार कुनै योजनाबद्ध रुपमा हानिएको पाइएन, आबेगमा आएर घटना घटाएको पाइयो,’ एसएसपी थापाले भने, ‘उनका बुवा मोहन तिरुवाको २०५६ सालमा सुरक्षाकर्मीको कारबाहीमा मारिएको पनि पाइयो ।’ तिरुवा प्रतिबन्धित चन्द समूहसँग आबद्ध नभएको पनि प्रतिवेदनमा उल्लेख छ।

जुत्ता प्रहारको घटनापछि महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोखरेलले थापाको संयोजकत्वमा काठमाडौं परिसरका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर युवराज तिमल्सिना सम्मिलित आन्तरिक छानबिन समिति गठन गरेका थिए। समितिले बुधबार पोखरेललाई प्रतिवेदन बुझाएको छ । ५ पेजको प्रतिवेदनमा घटना पूर्व निर्धारित नभएको उल्लेख छ।

तर घटना भएकै दिन सत्तारुढ नेकपा जुम्लाले रतन तिरुवा प्रहरीको खोजीसूचीमा रहेका व्यक्ति भएको र उनी नेत्रविक्रम चन्द समूहमा रहेको दाबी गरेको थियो । तर एसएसपी थापाले तिरुवा चन्द समूहसँग आबद्ध रहेको नभेटिएको बताए।

तिरुवा आफ्ना २ दाजुका साथ डल्लुमा भाडामा बस्दै आएका छन् । उनी अमिनतर्फ लोकसेवाको तयारीमा रहेको पनि खुलेको छ । जुत्ता प्रहार लगत्तै तिरुवालाई पक्राउ गरी प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

कान्तिपुरका अनुसार उनीमाथि कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ । छिट्टै तिरुवा विरद्धको कसुरमा प्रशासनमा मुद्दा दायर गरिने काठमाडौं परिसरले जनाएको छ।