हात मिलाउने पूँजिवादी प्रचलन त्याग्नु पर्छ: ऐन महर



काठमाडौँ। अनेरास्ववियूका संयोजक ऐन महरले हात नमिलाउन र अंगालो नमार्न सबैमा अनुरोध गरेका छन्। चीनबाट फैलिएको कोरोनाभाईरसले विश्व आतंकित बनेको र त्यसबाट जोगिनका लागि महरले उक्त आग्रह गरेका हुन्।

उनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजबाट हात नमिलाऔं। कमरेडहरुलाई लालसलाम गरौं। अरुलाई नमस्कार गरौं।’ नेपाली पुर्खाको ‘नमस्कार’ र मार्क्सले प्रचलनमा ल्याएको ‘लालसलाम’ अत्यन्तै दरगामी संस्कार रहेको महरको दाबी छ।

उनले अगाडि लेखेका छन्, ‘हाम्रा पुर्खाहरुले नमस्कार गर्न सिकाएको र मार्क्सले लालसलाम गर्न सिकाएको त्यसै होइन रहेछ। असाध्यै दुरगामी भएर प्रचलनमा ल्याइएको बैज्ञानिक संस्कार रहेछ।’

साथै संयोजक महरले भेट्दा हात मिलाउने र अँगालो मार्ने प्रचलन पूँजीवादीहरुको संस्कार भएको भन्दै उक्त प्रचलन स्वास्थ्यका लागि घातक हुने बताएका छन्।

उनी भन्छन्, ‘यो पुँजिवादिहरुले प्रचलनमा ल्याएको हात मिलाउने र अँगालो हाल्ने प्रचलन वास्तवमा स्वास्थ्यका लागि हानिकारक छन। पुँजिवाद र पुँजिवादी प्रचलन समाज ,देश र स्वास्थ्यका लागि हानिकारक छन। त्यसैले पूँजिवादी प्रचलनलाई त्यागौं, हाम्रा पुर्खाको संस्कार र मार्क्सवादी प्रचलनलाई आत्मसाथ गरौं कोरोना भाइरस बाट आफू पनि बचौं अरुलाई पनि बचाऔं।’