“देशव्यापी नि:शुल्क मास्क वितरण अभियान’ सञ्चालन गरियोस्”


नवीन यादव

कोरोना भाइरसको संक्रमणले विश्व नै त्रसित भएको अवस्थामा यसको रोकथाम एवं जाँचका लागि नेपालको तयारी सन्तोषजनक देखिएको छैन।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गर्नेबारे चर्चा चुलिएको अवस्थामा नेपालमा पर्याप्त तयारी नहुनु निकै दुखद विषय हो। बजारमा मास्कको अभाव एवं बिक्रीमा अनियमितताले जनमानसमा झन् सन्त्रास उत्पन्न गरेको छ।

विश्वव्यापी संक्रमणलाई ख्याल गर्दै नेपाल सरकारले पनि नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि ‘देशव्यापी नि:शुल्क मास्क अभियान’ सञ्चालन गर्न आवश्यक भइसकेकव छ।

छिमेकी देश भारतमा पनि नोबेल कोरोना भाइरस पुष्टि भइसकेको अवस्थामा नेपालमा पूर्वतयारी अनिवार्य भइसकेको छ। इमर्जेन्सी किट तयार पारेर प्रत्येक परिवारमा वितरण गर्न एवं जनचेतना फैलाउन अति आवश्यक छ।

मिडिया एवं सञ्चारकर्मी, स्थानीय निकाय एवं जन प्रतिनिधिले कोरोना भाइरसको संक्रमणबारे जनचेतनाका कार्यक्रमहरु अघि बढाउनुका साथै सम्बन्धित सम्पूर्ण निकायले सतर्कता अपनाउन जरुरी छ।

विश्व स्वास्थ्य संगठनले भनेझैँ कोरोना भाइरसबाट जोगिन निम्न कुरामा ध्यान दिनु जरुरी छ:
–    भीडभाडमा नजाने
–    मास्कको प्रयोग गर्ने
–    सरसफाइमा ध्यान दिने
–    उच्च जोखिममा रहेका उमेर समूह तथा दीर्घ रोगीलाई विशेष ख्याल गर्ने
–    साबुन-पानीले हात धुने
–    हाच्छिउँ गर्दा नाक-मुख छोप्ने
–    सेनिटाइजरको प्रयोग गर्ने
–    कोरोना भाइरस जस्तो केही लक्षण (अत्यधिक ज्वरो, श्वास-प्रश्वासमा समस्या, रुघा खोकी आदि) देखिए नजिकैको अस्पताल एवं स्वास्थ्य संस्थामा सम्पर्क गर्ने

कोरोना विरुद्धको लडाईंमा सबै एक होऔं।