कोरोनाभाइरसलाई दृष्टिगत गर्दै वैठक स्थगित गरेका छौं: सचिव शाही



कालिकोट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कालिकोटले यही फागुन २२ र २३ गतेका लागि तय गरेको जिल्ला कमिटीको वैठक स्थगित गरेको छ।

नेकपा कालिकोटका सचिव नगिन्द्र शाही ‘नेसनल’ का अनुसार कोरोनाभाइसरको संक्रमण र उक्त महामारीलाई दृष्टिगत गर्दै जिल्ला कमिटीको वैठक स्थगित गरिएको हो।

सरकारले ठूला सभा समारोह, भोज भतेरलगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले वैठक स्थगित गर्नु परेको नेता शाहीले कर्णाली सन्देशलाई जानकारी दिए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी कालिकोटको यही २०७६ फागुन २२ र २३ गते हुने भनिएको जिल्ला कमिटीको बैठक र प्रशिक्षण भेला कोरनाभाइरस कारणले तत्काल भेला प्रशिक्षण गर्ने कुरा उपयुक्त नहुने हुँदा अर्को सूचना सम्प्रेषण नगर्दासम्मका लागि स्थगित भएको जानकारी गर्दछु।’

त्यस्तै कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ। प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको हो।

प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेले सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको बताए। नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सोमबार झापामा हुँदैथियो।