प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा भर्ना



काठमाडौ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा भर्ना भएका छन्। प्रधानमन्त्री ओली अस्पतालको भिभिआइपी कक्ष ६०१ मा भर्ना भएको फोटो पत्रकार मुकुन्द कालिकोटेले जानकारी दिएका छन्।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले एक भिडियो सन्देश जारी गर्दै केही दिनको अस्पताल वसाई र आरामपछि आफू थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने बताएका छन्।

‘म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुहोस्। हामीलेदेखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षां पूरा गर्न केही दिनको अस्पताल वसाई र आराम पछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु।’

प्रधानमन्त्रीले आफ्नै देशमा मिर्गौला प्रत्यारोपण गराउन पाउँदा खुसी समेत व्यक्त गरेका छन्। ‘विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन। यसपटकको मिर्गौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु। त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरुद्धारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु’, प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्।

अस्पताल भर्ना हुनुअघि ओलीले विभिन्न मन्त्रीहरु र सचिवहरुलाई बालुवाटार बोलाएर आवाश्यक निर्देशनसमेत दिएका थिए। यसअघि दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने इच्छा जनाएपछि सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।

प्रधानमन्त्री ओलीले आइतबार नै आफूले बुधबार मृगौला प्रत्यारोपण गर्ने पार्टी सचिवालय बैठकमा जानकारी दिएका थिए। यसअघि फेरिएको मिर्गौलाले गत कात्तिकदेखि काम गर्न छोडेपछि ओलीले नियमित डायलाइसिस गराइरहेका छन्।

ओलीको पहिलो पटक १३ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि उनले गत साउनयता नियमित डाइलायसिस समेत गर्दै आएका छन्। प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन्।