कन्हैया कुमारविरुद्ध राजद्रोहको मुद्दा, दिल्ली सरकारले दियो सहमति



काठमाडौँ। अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्ष कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको छ।

शुक्रबार दिल्ली सरकारले कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको हो। दिल्ली सरकारले अनुमति दिएसँगै कन्हैयाकुमारसहित अरु आरोपीमाथि मुद्दा चल्ने निश्चित भएको छ।

केहीदिनअघि मात्र उन्रीहरुविरुद्ध मुद्धा चलाउन अनुमति दिन दिल्ली सरकारलाई आदेश दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट खारेज भएको थियो। तर दिल्ली सरकारले मुद्दा चलाउन अनुमति दिएपछि अब कन्हैकुमारसहित १० जनामाथि मुद्दा चलाउने बाटो खुलेको छ।

सन् २०१६ फेबु्रअरी ९ मा जवहारलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको भिडियो सार्वजनिक भएपछि उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।

दिल्ली सरकारले राजद्रोहको मुद्दा दायर गर्न समहति दिएलगत्तै कन्हैयाकुमारले उक्त कदमप्रति व्यंग्य गर्दै केजरीवाल सरकार र प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन्। उता भाजपा दिल्लीका अध्यक्ष मनोज तिवारी लगायतले भने केजरीवाल सरकारको उक्त कदमको स्वागत गरेका छन्।

एजेन्सी