मुख्यमन्त्री पोखरेलद्धारा ताल उद्घाटन


रविन घिमिरे

बुटवल। प्रदेश ५ को बुटवल उपमहानगरपालिका १६ मा बैठौलिया कपरकट्टी तालमा डुंगा सञ्चालन गरिएको छ। बिहीबार बुटवल उपमहानगरपालिकाद्धारा आयोजितडुंगा सञ्चालन कार्यक्रम उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको सभापतित्व र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो।

नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाईलक्षित गरी बुटवल उपमहानगरपालिकाले गौरवका आयोजनाको रुपमा यो तालको विकास र पर्यटन प्रवद्र्धन गर्न लागेको हो।

गत साल ४० लाख रुपियाँ विनियोजन गरी यस तालको विकास थालिएकोमा यस वर्ष प्रदेश सरकारबाट ५५ लाख र बुटवल उपमहानगरपालिकाबाट ५० लाख विनियोजन गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीले बताए।

उनले यस क्षेत्रमापर्यटन प्रवद्र्धन गर्न सके र यसको प्रचार गर्न सके निकै लाभदायी हुने बताए। यसैगरी कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले डुंगा सञ्चालन सँगै यस क्षेत्रमा होमस्टे सञ्चालन गर्न सुझाव दिएका छन्।

थारु समुदायको बाहुल्यता रहेको यस ताल क्षेत्रमा त्यस समुदायका परिकार, संस्कृति र भेषभूषासमेत झल्कने गरी होमस्टे सञ्चालन गर्न सके अझप्रभावकारी हुने उनले बताए। डुंगामा मुख्यमन्त्रीसहित नगर प्रमुख, उपप्रमुख पत्रकारलगायतको टोली सयर गरेको थियो। संयोगवश मुख्यमन्त्रीको जन्मदिन पनि परेकाले कार्यक्रम थप रोमाञ्चक बनेको थियो।

बुटवल उपमहानगरपालिका वटा नं १६ को १३ बिघा र श्री नवरत्न माविको ७ बिघा गरी २० बिघा क्षेत्रफल रहेको तालको लम्बाई २ किलोमिटर छ। उक्त तालका लागि बुटवल महानगरपालिकाले वार्षिक ४ लाख रुपियाँ उक्त विद्यालयलाई भाडा बापत दिने सम्झौता गरी तालको विकास थालिएको बताइएको छ।

कार्यक्रममा छिमेकी नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, छिमेकी वडाका वडाध्यक्ष, स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक, आमा समूह, सहकारी संस्था, नमुना टोल विकास समिति, विद्यार्थी, पत्रकार गरी हजारौँको सहभागिता थियो। उक्त कार्यक्रममा विभिन्न समूहले आफ्ना पञ्चेबाजासहित झाँकी प्रस्तुत गरेका थिए।