सेल्फि ढुङ्गाको मासिक कमाई २४ हजार



काठमाडौँ। पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन्। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो आम्दानी भएको हो। ‘चुच्चेढुङ्गा’ मा चढ्न रु १० शुल्क लाग्ने गर्दछ।

धुलिखेलको सबैभन्दा अग्लो स्थानमा रहेको सो डाँडा व्यक्तिको निजी जग्गा रहेका कारण व्यावसायिकरूपमा टिकटको व्यवस्था गरिएको हो। त्यहाँबाट हिमालका दृश्यावलोकन गर्नुका साथै वरिपरिका विभिन्न मनोरमस्थल हेर्न पाइने भएकाले मनोरञ्जनका साथै आनन्द लिनका लागि पु्ग्ने आन्तरिक तथा बाह्य पर्यटकले चुच्चेढुङ्गा चढेवापत सो शुल्क तिर्नुपर्छ।

पहिला खुलारूपमा घुम्न र सो ढुङ्गामा चढ्न पाएको भए पनि पछिल्लो समयमा जग्गाधनीले ढुङ्गा भएको वरिपरि तारबार गरेर टिकटको व्यवस्था गरेपछि कमै मान्छेले मात्रै सो ढुङ्गा चढ्ने गरेका छन्। सबैको रोजाइ चुच्चेढुङ्गा चढ्ने नभए पनि विशेषगरी बालबालिका र युवायुवती जोडीको पहिलो रोजाइ चुच्चेढुङ्गा चढ्नु र तस्वीर खिच्नु रहेको पाइन्छ। त्यसरी चढ्न जानेहरुले काटेको टिकटबाट मात्रै दैनिक रु ८०० भन्दा बढी रकम सङ्कलन हुने गरेको छ