टर्कीमा सिरियाको हवाई आक्रमण, २९ जना सेनाको मृत्यु



काठमाडौँ। सिरियाले टर्कीमा गरेको हवाई हमलामा कम्तीमा २९ टर्किस सेनाको मृत्यु भएको छ। केही दर्जन घाइते भएका छन्। इड्लिबमा सिरियाले बिहीबार साँझ गरेको हवाई आक्रमणमा टर्किस सैनिक मारिएका हुन्।

टर्कीका प्रान्तीय गर्भनर रहमी डुगनले सिरियाको आक्रमणमा आफ्ना सैनिक मारिएको पुष्टि गर्दै कैयन घाइते भएको जनाएका छन्। इड्लिब प्रान्त त्यहाँका विद्रोहीहरूको कब्जामा रहँदै आएको छ।

तर, सिरियाली सैन्य बल, जसलाई रुसको समर्थन छ, ऊ विद्रोही समूहको दबदबा हटाएर त्यसलाई आफ्नो कब्जामा ल्याउन चाहन्छ। टर्की भने विद्रोहीको पक्षमा उभिँदै आएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सैन्य पोस्टबाट फिर्ता हुन सिरियाली फौजलाई आग्रह गरेका छन्। आग्रह अटेरी गरे टर्की चुप लागेर नबस्ने चेतावनी उनले दिएका छन्।

तर, सिरिया र रुसले भने टर्कीको आग्रहलाई टार्दै आइरहेका छन्। बीबीसीका अनुसार, घटनापछि टर्कीमा हलचल आएको छ । त्यहाँका राष्ट्रपति एर्दोआनले आकस्मिक सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक डाकेका छन्। एजेन्सी