जापान सम्बन्धि कन्सलटेन्सीहरुमा एकरुपताको खाँचो



काठमाडौँ। शैक्षिक परामर्श संघ (इक्यान) का तृतिय उपाध्यक्ष कृष्णहरी केसीले जापानसँग सम्बन्धित काम गर्ने शैक्षिक संस्थाहरु एकजुट हुनुपर्ने धारणा राखेका छन्।

राजधानीको पुतलीसडक स्थित कुमारी रेष्टुरेण्टमा आयोजित एक भेटघाट कार्यक्रममा केसीले उक्त सुझाव दिएका हुन्। उनले भने, ‘जापानसँग सम्बन्धित कामगर्ने संस्थाहरुको सहकार्यमा मात्रै हाम्रो व्यवसाय सरल र सफल बन्छ।’

जापनीज कन्सलटेन्सीहरुले मनोमानी रुपमा विद्यार्थीहरुबाट पैसा असुल्ने गरेको आरोप छ नि ? भनेर सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा केसीले भने, ‘जापानका लागि राज्यले यति नै लिनु भनेर भनेको छैन। तथापी यति लिनु या नलिनु भनेको छैन भनेर विद्यार्थीलाई मार पर्ने गरी सायद कसैले पैसा उठाएको सुन्नमा आएको छैन। केही व्यवसायीको नाममा नक्कली कागजात बनाएर जापान पठाउने नाममा त्यस्ता केही घटना नभएका भने होनन्।’

त्यस्तै माउण्ट रोएल एजुकेशन प्रालिका प्रवन्ध निर्देशक मेघराज शाहीले जापान सम्बन्धि काम गर्ने कन्सलटेन्सीहरु एकजुट भएर पेशाप्रति बफादार हुनुपर्ने सुझाव दिए।

 

समग्र व्यवसायीक हकहितका लागि जापान सम्बन्धित कन्सलटेन्सीहरु एकजुट भएर अगाडि बढ्नु पर्ने शाहीको भनाई थियो। विभिन्न कन्सलटेन्सी सञ्चालकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा शाहीले पेशाप्रतिको इमान्दार नबन्ने हो भने वर्षौदेखिको लगानी खेर जाने चेतावनी दिए।

उनले भने, ‘कन्सलटेन्सीसँग सम्बन्धित संघ संस्थाहरु नभएका होईनन्। यहाँ थुप्रै संस्थाहरु छन्। केही समय पहिले इक्यानका एकजना पदाधीकारीको कुरा मिडियामा आएको थियो। संगठनमा आवद्ध बाहेक जापानीज शैक्षिक कन्सलटेन्सीहरुको बारेमा कुनै जवाफदेही नहुने खालका अभिव्यक्ति दिनु भएको थियो। यस्ता अभिव्यक्तिबाट हामी जस्ता सयौं व्यवसायीहरुको भावनामाथि चोट पुगेको छ। राज्यले नै हाम्रो व्यवसायप्रति जिम्मेवार र नियमनकारी भूमिका खेल्नुपर्छ।’

उनले अगाडी भने, ‘केही व्यक्तिका यस्ता गलत प्रवृति र आचरणका कारण सिंगो व्यवसायी क्षेत्र बदनामी बन्न पुगेको अवस्था छ। यस्तो गलत कार्य किमार्थ नगर्न नगराउन अनुरोध गर्दछु। आज हामीले सामान्य भेटघाट तथा हाम्रो व्यवसायमा देखिएका अराजक क्रियाकलापहरुका बारेमा बसेर छलफल गरौं भन्दा केही साथीहरुले फोन गरेरै टिकाटिप्पणी गर्नुभयो। हामी नै पहिले एकजुट हुनुपर्यो। एक ठाउँमा आउनु पर्यो। हामी सजक, असल र सफल व्यवसायी भए पो अरुलाई भन्न सकिन्छ, नभए त अरुले हामीलाई यसरी नै लज्जित गराउने अवसर पाइहाल्छन् नि।’

कार्यक्रममा इक्यानका सदस्य किशोर तिवारीले नेपाली विद्यार्थीहरुको रोजाइको रुपमा रहेको जापानीज गन्तव्यलाई सुलभ र सहज बनाउन ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘जापान पठाउने विद्यार्थीहरुको प्रमाणपत्र एउटै किसिमले तयार पार्ने र विगतका गल्तिहरुबाट पाठ सिक्ने हो भने पछिल्लो समयमा हामीले भोग्दै आएका समस्याहरुको हल हुन्छ। यसमा हामी एकजुट हुनुपर्छ। नेपाल सरकारको ऐन नियम र जापानीज क्याम्पसहरुको मागअनुसार हामीले एकरुपताका आधारमा काम गर्न सक्नु आजको आवश्यकता हो।’

उनले अगाडी भने, ‘नो अब्जेक्सन लेटेर (एनओेसी) का बारेमा यत्रो समस्या उत्पन्न भएको छ। यसका बारेमा हामीले एकजुट भएर समस्या समाधान गर्ने कुरामा ध्यान दिनुपर्छ। साथै सम्बन्धित सरोकारवालहरुलाई ध्यानाकर्षण समेत गराउनुपर्छ।’

कार्यक्रममा विभिन्न कन्सलटेन्सीका सञ्चालकहरुको उपस्थिति रहेको थियो। उनीहरुले संगठीत भएरै भएपनि कन्सलटेन्सी व्यवसायलाई थप मज्बुद र भरपर्दो बनाउनु पर्ने राय सुझाव दिएका छन्।