‘जनयुद्धका सम्पूर्ण सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्छ’



काठमाडौँ। अनेरास्ववियूकी नेता पञ्चा सिंहले जनयुद्धका सम्पूर्ण सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने सुझाव दिएकी छिन्। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २५औँ स्मृति तथा वलिदान दिवसका अवसरमा बुधबार गोरखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन्।

बुधबार सिंहसहितको अनेरास्ववियूको टोलीले रम्तेलकै घरमा पुगी उनको परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो। उक्त सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतका आन्दोलनका सहिद, बेपत्ता, घाइते तथा अपांगलगायतको योगदानले मुलुकमा गणतन्त्र ल्याउन सम्भव भएको बताइन्।

उनले दिल बहादुर भौतिकरुपमा यो संसारमा नभए पनि उनी इतिहासमा सधै जिबित रहिरहने बताइन्। बुधबार नै अनेरास्ववियू र राष्ट्रिय युवा सङघ गोर्खाको आयोजनामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो। तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धका क्रममा रम्तेलको ११ वर्षको उमेरमा राज्यपक्षबाट हत्या भएको थियो।

यसैबीच सत्तारुढ नेकपा निकट अनेरास्ववियूले आज साँझ ५ बजे २५औं दिलबहादुर रम्तेल स्मृति तथा वलिदान दिवसको सन्दर्भमा माइतीघर मण्डललामा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको अनेरास्ववियूका केन्द्रिय लेखा आयोगका सचिब मदन भुलले जानकारी दिए।