रवीन्द्र अधिकारीको पहिलो स्मृति



काठमाडौँ। नेपाली राजनीतिक क्षेत्रका लोकप्रिय युवा नेता एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको (फागुन १५ गते) एक वर्ष पुगेको छ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए। उनी कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मिएका थिए।

सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विभिन्न माध्यमबाट राजनीतिक जागरणमा आफ्नो भूमिकालाई सशक्त बनाउँदै आएका थिए।

विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरेका अधिकारीले विभिन्न जिम्मेवारी बहन गर्दै २०४९ सालमा पिएन क्याम्पस र २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्न सफल भएका थिए । उनले २०४५ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेका थिए।

वि।सं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित भएका थिए। उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

उनको निधन पश्चात् २०७६ जेठ १८ गते उनका योगदानलाई चिरस्थायी बनाउन ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’को स्थापना गरिएको छ। जसको अध्यक्ष रवीन्द्र पत्नी विद्या भट्टराई रहेकी छिन्।