काठमाडौँ। १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिले मारिएका ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको २५औं स्मृति तथा वलिदान दिवसको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
आजभन्दा २५ वर्ष अगाडि गोरखाको पुन्द्रुङस्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए। तत्कालीन माओवादीले उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदका रुपमा सम्मान गर्दै आएको छ।
यसै सन्दर्भमा सत्तारुढ नेकपा निकट अनेरास्ववियूले बुधबार साँझ ५ बजे २५ औं दिलबहादुर रम्तेल स्मृति तथा वलिदान दिवसको सन्दर्भमा माइतीघर मण्डललामा दीप प्रज्ज्वलन कार्यक्रम राखेको छ। रम्तेल जन्मिएको गोरखा जिल्लामा बुधबारै अनेरास्ववियू र राष्ट्रिय युवा संघले रक्तदान कार्यक्रम आयोजना गरेका छन्। जहाँ अनेरास्ववियूकी नेता पञ्चा सिंह उपस्थित भएकी छन्।
बुधबार बिहान स्वतन्त्र विद्यार्थी युनियन थापाथली क्याम्पसको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ लगायतको उपस्थिति थियोे।