काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीले हेलिकप्टर चार्टर्ड गरी तामझामका साथ मनाएको जन्मदिनको दृश्यले तत्कालिन राजा ज्ञानेन्द्र शाहको ‘न्यास्रो मेटाएको’ टिप्पणी गरेका छन्।
मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै नेता थापाले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘जन्मदिन मनाउनुमा आपत्ति छैन, मेरो पनि शुभकामना छ। तर, उहाँ जुन ओहोदामा हुनुहुन्छ, यस्तो तामझाम गरेर जन्मोत्सव मनाउँदा ०६१ सालका सक्रिय राजा ज्ञानेन्द्रको न्यास्रो मेटाएको छ।’
प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चाहना पूरा गरेकोमा नागरिकले व्यापक आलोचना गरेको थापाले स्मरण गराएका थिए। निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडिओ प्रकरणबारे पनि थापाले टिप्पणी गरेका थिए।
‘गोकुल बाँस्कोटा र विजय मिश्रको वार्तालाप हामीले सुन्यौँ। यो अडियो प्रधानमन्त्रीले पहिले नै सुन्नुभएको थियो भन्ने हामीले थाहा पायौँ। तर, यसबारे संसदमा आँखा जुधाएर जवाफ दिने हिम्मत हुनुपर्छ,’ नेता थापाले भने।
यस्तै उनले प्रधानमन्त्रीका गतिविधिबारे नागरिक र आफ्नै कार्यकर्ताले समेत कडा आलोचना गर्न थालेको बताएका थिए। उनले प्रश्न गरे, ‘तपाईँलाई थाहा छ, नागरिक के भन्दैछन्? फोर जी र स्याटलाइटको ठेक्कामा पनि करोडौं भ्रष्टाचार भएको छ। सम्मानमीय प्रधानमन्त्रीलाई सबै थाहा थियो, अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइयो भन्दैछन् । थाहा छ?’