जुम्लामा फ्युलिङ्ग सेन्टर स्थापना गर्नु पर्छ: नेता शाही



जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीले कर्णालीको हवाई क्षेत्रलाई व्यवस्थित गर्न र स्थानीयहरुको सुविधाको लागि जुम्लामा फ्युलिङ्ग सेन्टरको स्थापना गर्न सरकारसँग माग गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेशबुकमा नेता शाहीले लेखेका छन्,‘शासक फेरिए, शासनपद्धति फेरिएन, व्यवस्था फेरियो, अवस्था फेरिएन, कर्णाली राणा, राजा, पन्चायत, प्रजातन्त्रहुँदै लोकतन्त्र, गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र जस्ता परिर्वतनहरु कर्णालीको लागि ‘कागलाई बेल्ल पाक्यो हर्ष न बिष्मात’ भनेझैं भएको स्थितिछ।’

उनले अगाडि लेखेका छन्, ‘कर्णालीको पिडा जस्ताको त्यस्तै छ। कर्णाली राजमार्ग दयनीय अवस्थामा छ। कालिकोट बाहेक साबिकको कर्णालीका ४ जिल्लामा एर्पोट छ। तर, भरपर्दो जहाजको सुबिधा छैन। धेरै सम्भावना हुँदाहुँदै जुम्लामा फ्युलिङ्ग सेन्टर राखेर कर्णालीका सबै जिल्लामा जहाजको सुबिधा दिनसक्ने सम्भावना छ। तर, यस्ता दृर्घकालिन सम्भावना र आधारभूत संरचना निर्माणमा सरकारको ध्याना पुग्न सकेको छैन।’

नेता शाहीले कर्णालीबाट केन्द्रीय स्तरको नेतृत्व जन्मिन आवश्यक भएको बताएका छन्। उनले अगाडि लेखेका छन्, ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,आँधी आए तराईंमा पहाडले छेक्नुपर्छ, भन्ने सन्देशलाई वर्तमान राज्य नेतृत्वले ग्रहण गर्न सकेन। कर्णालीले कुसल र असल नेतृत्व जबसम्म कुनै पनि समुदाय, क्षेत्र र राष्ट्रले पाउदैन तबसम्म त्यहाँका जनतामा खुसी, विकास र समृद्धि कहिल्यै आउँदैन।’

वर्तमान सत्तारुढ दल र मुख्य राजनीतिक दलको नेतृत्वले भविष्यको चिन्ता नगरेको नेता शाहीको भनाई छ। नेता शाहीले वर्तमान पुस्तालाई उचित अवसर र सहभागिता गराउँन नसकिए भावि सन्ततीले वर्तमान नेतृत्वलाई राम्रो रुपमा नलिने चेतावनी दिएका छन्।

उनले लेखेका छन्, ‘सधै नातावाद, कृपावाद र खुट्टा तान्ने प्रवृत्तिमा होमियौ जसले गर्दा यो पुस्तालाई त केही प्रभाव नपर्ला। तर, आउने पुस्ताले यिनै महासयलाई सराप्नु सराप्ने छ्न। हिजोका गल्तिले अहिले पश्चताप भएकै होला। अँझ भोलि कति पश्चताप गर्नुपर्छ। त्यो भाबी पुस्ताले भोग्ने छ्न। बेलैमा भूगोल, जाती, धर्म र सप्रदायभन्दा माथि उठेर वर्तमान राज्यसत्ता र वर्तमान नेतृत्वले समग्र जनताको सामुहिक भावनाको नेतृत्व गर्न सक्नुपर्छ।’