धनराज वास्तविक,
नेपालमा कम्युनिष्ट आन्दोलन शुरु भएको ७ दशक बितिसकेको छ। यी ७ दशकका ३० वर्षजति कम्युनिष्टहरू सत्तामा रहेर काम पनि गरिसकेका छन्। अहिले पनि दुई तिहाइको सरकार कम्युनिष्टकै छ। कम्युनिष्टको ब्यानर तथा साइनबोर्ड राखेर गैरकम्युनिष्ट क्रियाकलापहरू किन हुँदैछन्? विचारलाई सर्वोच्चता मान्न कम्युनिष्ट पार्टीका वर्तमान नेताहरू किन डराइरहेका छन् ? किन कम्युनिष्टहरूले सत्तालाई जनताको हितमा प्रतिस्थापन गर्न सकेनन्?
अर्को शब्दमा भन्नुपर्दा कम्युनिष्टहरू आफ्नो सिद्धान्तलाई व्यवहारमा उतार्न किन सकिरहेका छैनन्? खासमा कम्युनिष्टलाई सर्वहारा वर्गको हितमा काम गर्न कसले रोकेको छ? सत्ताबाहिर हुँदा र सत्तामा पुग्दा कम्युनिष्टका व्यवहार र विचार किन परिवर्तन हुन्छन् ? किन उनीहरू आफ्नो मूल विचारबाट स्खलित हुन पुग्छन्? आज आम जनताका मनमा उठ्ने सवाल हुन् यी।
कहाँ चुक्यो कम्युनिष्ट आन्दोलन?
सन् १८४८ मा कार्लमाक्र्स र एंगेल्सले ‘कम्युनिस्ट घोषणापत्र’ लेखेका थिए। पहिलो ‘कम्युनिस्ट घोषणापत्र’ले विश्वका सम्पूर्ण मजदूरलाई संगठित गरेर मुक्तिको मार्गतर्फ अग्रसर हुने विचार प्रदान ग¥यो। जुन घोषणापत्रलाई विश्वका गरिब–मजदुर सर्वहारा वर्गको मुक्तिका लागि मार्गदर्शक ठानियो।
युरोपमा पुनर्जागरण कालखण्डको उपजका रूपमा उदाएको माक्र्सवाद अहिले पनि संसारभर बहसको विषय बनिरहेको छ। तत्कालीन सोभियत संघको पतनपछि अलोकप्रिय बनेको भनिए पनि संसारमा माक्र्सवादलाई मार्गदर्शक मान्नेहरू अहिले पनि धेरै छन्। यद्यपी मार्क्सवादलाई यसका अनुयायीहरूले मात्र सत्ता प्राप्तिको साधन बनाएर छोडे।
तत्कालीन पूर्वी र पश्चिमी जर्मनीबीचको बर्लिन पर्खाल ढलेपछि समाप्त भएको भनिएको माक्र्सवाद पश्चिमा देशहरूमा देखिएको आर्थिक मन्दीपछि प्रिय बन्दै गयो।
अहिले पनि माक्र्सवाद उत्तिकै चर्चामा छ। जर्मनीमा सन् १८१८ मे ५ मा जन्मिएका माक्र्स दार्शनिक, अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तकार, समाजशास्त्री, पत्रकार मात्रै नभएर एक समाजवादी क्रान्तिकारी पनि थिए। उनको विचारका कारण जर्मन सरकारले उनलाई त्यहाँ टिक्न दिएन। मार्क्सले फ्रान्स, बेल्जियम र बेलायतमा निर्वासित जीवन बिताए। तिनै देशमा बसेर उनले आफ्नो विचारलाई संसारभर फैलाए।
नेपालमा मार्क्सवाद
उनै मार्क्स, एंगेल्स, लेनिन, माओजस्ता विश्वचर्चित मार्क्सवादी नेताहरूको प्रभाव नेपालमा पनि प¥यो। विसं २००६ वैशाख १० गते नेपालमा पहिलो कम्युनिष्ट पार्टी निर्माण भयो। भारतको कोलकातास्थित श्यामबजारमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०७५ सालसम्म आइपुग्दा दुई तिहाइको सरकार बनाउने हैसियतमा पुग्यो।
कम्युनिष्ट पार्टीका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी ५ जनाबाट शुरु भएको नेपालको कम्युनिष्ट पार्टी आजसम्म आइपुग्दा यसको इतिहास एकता भन्दा अनेकता र जुटभन्दा फुटले भरिएको छ।
यसको मुल कारण हो, नेपालका कम्युनिष्ट पार्टीभित्र एकले अर्कोलाई नेता नमान्ने प्रवृत्ति। सैद्धान्तिक रुपले बिल्कुलै फरक नदेखिए पनि एकले अर्काको अस्तित्व स्वीकार नगर्दा नेपाल कम्युनिष्ट पार्टी चिराचिरा र गुट–उपगुटमा विभाजित हुँदै आएको छ। अहिले पनि त्यो स्थिति यथावत देखिन्छ।
साम्यवादको लक्ष्य सुनाउने कम्युनिष्टहरू २०१७ सालमा राजा महेन्द्रको कदमलाई लिएर फुट्न शुरु गरेको इतिहासले बताउछ। आजसम्म पनि कोही सरकारमा छन्, कोही सडकमा छन्। विचार र सिद्धान्तमा शंका, छिमेकीसँगको सम्बन्ध, पदको झगडा, एकअर्कामा अविश्वास लगायतका कारणले मात्रै कम्युनिष्ट पार्टी फुटेन, यौनकाण्डको विवादमासमेत फुटेका इतिहास छ।
विसं २०१० मा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पहिलो महाधिवेशनबाट महासचिवमा मनमोहन अधिकारीलाई निर्वाचित ग¥यो। उनलाई कम्युनिष्ट इतिहासका पहिलो र लोकप्रिय प्रधानमन्त्रीका रूपमा लिइन्छ। कम्युनिष्ट पार्टीले २०१४ सालमा दोस्रो महासचिवका रूपमा केशरजंग रायमाझीलाई पायो। उनी राजालाई मानेर अघि बढ्नुपर्छ भन्नेमा थिए। उनकै कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजन भयो।
२०१७ साल पुस १ गते राजा महेन्द्रले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हाले। महासचिव रायमाझीले त्यसको स्वागत गरे। पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी भने रायमाझीको विपक्षमा उभिए। रायमाझी कालान्तरमा दरबार पसे। पुष्पलाल, तुलसीलाल, मोहनविक्रम र मनमोहन जस्ता नेताहरू पनि क्रमशः शक्तिशाली कम्युनिष्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणलाई लिएर विभाजित हुन पुगे। उक्त असरका बाछिटा अझैसम्म पनि परिरहेका छन्।
एमाले-माओवादी एकता
अस्थिर राजनीतिबाट आजित बनेका जनताले एमाले–माओवादी एक हुँदा देशमा स्थायित्व र विकास हुन्छ भन्ने अपेक्षासहित दुई तिहाइ मतद्वारा नेकपालाई जिताए। ओली–प्रचण्डले दुई तिहाइलाई समय र जनताको माग भनेर सम्बोधन गरे पनि जनताको आकांक्षा र राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुई पार्टी मिलेका हुन् भन्ने तर्क अहिले असत्य सावित हुँदै गएको छ।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता चुनावमा कांग्रेसलाई पराजित गर्ने र दुई तिहाइ जनमतको सरकार बनाएर शासन सञ्चालन गर्नेभन्दा पर पुगेर गरिएको थियो भने वर्तमान समयमा जे जे हुँदैछ, उनीहरूबाट भइरहेका यस्ता क्रियाकलाप देख्न पाइने थिएन।
पुष्पलाल, मनमोहन, मदन भण्डारीजस्ता नेताहरूले नेतृत्व गरेको पार्टीका वर्तमान नेतृत्वले विचारअनुसारको व्यवहार देखाउन नसक्नुका धेरै कारण छन्। मालिक र दासबीचको दूरी भत्काउने, धनी र गरीबबीचका खाडल पुर्ने, समाजमा आर्थिक, समाजिक, राजनीतिकरुपले समानता स्थापित गर्ने र सम्पूर्ण मानिस समान अस्तित्वमा बाँच्नेजस्ता आदर्शहरू नेपाली कम्युनिष्टहरूले सत्तामा पुग्ने अस्त्र मात्रै बनाएको अहिलेको दुई तिहाई सरकारको व्यवहारले प्रष्ट पार्दैछ।
आज सत्तासीन र पूर्व सत्तासीन कम्युनिष्ट भनिने नेता र जनताबीचको दूरी बढेको छ। कम्युनिष्ट पार्टीमा लाग्ने एउटा वर्ग आज नवधनाड्य देखिएको छ। यिनीहरूको व्यवहार पूराना सामन्तवादी शैलीलाई स्मरण गराउने खालका छन्। नेतृत्व र खास कार्यकर्ताबीचको दूरी मालिक र दास जस्तै बन्न पुगेको छ।
नेतृत्वमा पहुँच हुनेको भलाइ भइरहेको छ, अर्थलाभ गरिरहेको छ र महत्वपूर्ण पदहरूमा नियुक्ति पाउने पनि नेतृत्व निकटकै देखिएका छन्। पहुँचविहीन कार्यकर्ताहरूका पदचापहरू सुनिन छोडेका छन्। लेनिन र माक्र्स विचारधारालाई आत्मसात् गरिरहेका नेपाली कम्युनिष्ट नेताहरू आज नवसामन्तमा रूपान्तरण हुँदैछन्। कम्युनिष्टको आवरणमा सत्तामा बसेर दलाल पूँजीवादी, विचौलिया, घुसखोरी, कमिसनखोरीहरुको रक्षाकवज बन्दैछन्।
यी प्रश्नका जवाफको त के कुरा, प्रश्न के हो? किन यो प्रश्न तेर्सियो? त्यसबारे सोच्नेसम्म फुर्सद कम्युनिष्ट पार्टीका नेताहरूसँग छैन। मार्क्सका अनुसार कम्युनिष्ट र सर्वहारा एकअर्काका परिपूरक हुनुपर्ने हो। तर, नेपालमा कम्युनिष्टका लागि सर्वहारा हुन् या सर्वहाराका लागि कम्युनिष्ट? भन्ने प्रश्न उठ्न थालेको छ। सर्वहारा वर्गले वर्तमान कम्युनिष्ट नेताहरू कुनै समयमा मार्क्सवादीे थिए भन्ने समेत अनुभूति गर्न पाइराखेका छैनन्।
सर्वहारा वर्गले नेतृत्व र आफूहरूबीचको दूरी झन् झन् टाढिएको महसूस गरिरहेको छ। आफूलाई गरिब देखिरहेका छन्। नेतृत्वलाई सम्पन्न देखिरहेका छन्। आफूलाई पातलो र नेतृत्वलाई मोटाएको देखिरहेका छन्।
जब आवश्यकताका आधारमा राजनीति गर्न थालिन्छ, त्यो बेला दर्शन, विचार र दृष्टिकोण मौन हुन्छ। त्यो समयमा व्यक्तिको सर्वोच्चता कि कानूनको सर्वोच्चतालाई प्रथम मान्ने? सिद्धान्तलाई प्रथम मान्ने वा कुन गुटलाई प्रथम मान्ने? भन्ने कुरामा विवाद शुरु हुन्छ। अझ नेपाली कम्युनिष्टहरूमा संसदीय सर्वोच्चता कि कम्युनिष्ट सर्वोच्चता भन्ने भित्री विवाद शुरु भएको देखिन्छ।
पार्टीका मुख्य नेता र सरकारी संयन्त्रमा पुगेका व्यक्तिहरूले आवश्यकताअनुसार वरिपरिकालाई देख्न थालेपछि टाढाका रिसाउने नै भए। सेवा, सुविधा, पद, प्रतिष्ठा, धनदौलतका नाममा मनहरू बाझिन थालेपछि सिद्धान्त, विचार, दृष्टिकोण, पार्टीको विधिविधान मूलत: राजनीतिक तत्वहरूमा धमिरा लाग्न थाल्छ।
कम्युनिष्ट जस्तो पवित्र मानिएको शब्दको सदुपयोग गर्नुको साटो नेपालमा दुरुपयोग भएको त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापक बताउँछन्। उनी भन्छन्, ‘नेपालमा कम्युनिष्ट शब्दको दुरुपयोग मात्रै होइन, चरम् दुरुपयोग गरियो। पुष्पलाल, मनमोहन, मदन भण्डारीजस्ता नेताहरूले नेतृत्व गरेको पार्टीका वर्तमान नेताहरूले उनीहरूको विरासतलाई धान्न सकेनन्। हुन त उनीहरूलाई विरासत भनेको के हो भन्नेसम्म थाहा छैन होला ! स्वार्थको चंगुलमा फसेको नेपाली कम्युनिष्ट आन्दोलनले जनमतलाई उचित कदर गर्न नसकेको भने पक्का हो।’
कहाँ चुक्यो कम्युनिष्ट आन्दोलन?
भनिन्छ, धनी र गरीब रहेसम्म, हुने खाने र हुँदा खानेहरूका बीचमा समानता नभएसम्म, मालिक र दासबीचको विभेद अन्त्य नभएसम्म, सर्वहारा वर्गको सर्वाङ्ग हित नभएसम्म माक्र्सवादी सिद्धान्त जीवित रहन्छ! माक्र्सवादको मुलभूत सारतत्त्व पनि यहि हो। यो कुनै वाद या राजनीतिले स्थापित गरिरहनुपर्ने विषय होइन।
नेपालमा कम्युनिष्टहरू एक पटक होइन, पटक–पटक चुकिरहँदा पनि यसका नेताहरूलाई जनताले पत्याइरहेका छन्। यसको कारण हो– विकल्पमा अर्को कुनै गतिलो र विश्वासिलो शक्ति नहुनु। नीतिगत रूपमा, व्यावहारिक रूपमा, सैद्धान्तिक रूपमा विचलित हुँदासम्म पनि जनताले कम्युनिष्टलाई उति नै पटक माफी दिइरहेको पाइन्छ।
वर्तमान नेपालमा कम्युनिष्ट विचारधारा अँगाल्दै आएका व्यक्तिहरू संलग्न दुई तिहाइको सरकार छ। जनताले नै उनीहरूलाई निर्वाचित गरेर संसद्मा पठाएका हुन्। निर्वाचित नेताहरू सोचिरहेका होलान् कि उनीहरूले यस मुलुकमा अत्यन्त राम्रो र जनमुखी काम गरेर जनताले आफूलाई चुनेका हुन्। यो उनीहरूको ठूलो भ्रम हो।
अहिले प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका नेताहरूले सत्तामा रहँदा अत्यन्तै खराब चरित्र प्रदर्शन गरेका हुनाले त्योभन्दा अलिकम खराब देखिएका कम्युनिष्ट नेतालाई चुनेका मात्रै हुन्।
आगामी दिनमा सच्चिन्छौँ
नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘इतिहासदेखि आजका दिनसम्म आउँदा केही नगरेको र प्रभाव पार्न नसकेको भन्ने कुरा सही होइन तर केही गल्तीहरू भएका छन्, आगामी दिनहरूमा त्यसलाई सच्याएर जानेछौँ भन्नेमा म विश्वस्त बनाउन चाहन्छु।’
पूँजीवादी चरित्रले नेपाली कम्युनिष्ट कमजोर
नेकपाका वैचारिक नेता मानिने राम कार्की भन्छन्, ‘नेपाली कम्युनिष्ट पूँजीवादबाट ग्रसित छ। माक्र्सवादलाई सर्वहार वर्गको हुन नदिने पूँजीवाद हो।’ उनले अगाडि थपे, ‘पूँजीवादको विकल्पमा कम्युनिष्ट आन्दोलन प्रतिस्थापन हुन सकेन। आज पूँजीवाद विश्वमै संकटावस्थामा पुगेका कारण नेपालमा हामी लोकप्रिय बनेका हौँ। खास कार्यक्रम र व्यवहारले हामीलाई लोकिप्रय बनाएको भने होइन, अहिलेको अवस्था झूट बोलेर टार्न मिल्ने समय पनि होइन।’
अन्य सामाजिक विधाको तुलनामा माक्र्सवादलाई विकास गर्न नसकिएको नेता कार्कीको भनाइ छ। वैचारिक तहबाट नेतृत्वलाई बल पु¥याउन नसकेको स्वीकार्दै कार्कीले भने, ‘नेतृत्वमा नैतिक तागत हुनुपर्छ। पूँजीवादी चरित्रले नेपाली कम्युनिष्टलाई कमजोर बनाएको महसूस नेतृत्वले गर्नुपर्छ। हामी आफूलाई समाजवादी भनेर भन्छौँ तर ठोस रूपमा कुनै समाजवादी कार्यक्रम सञ्चालन गर्दैनौँ। यसको एउटै कारण पूँजीवादलाई त्याग्न नसक्नु हो, कम्युनिष्टको साइनबोर्ड झुन्ड्याएर गैरकम्युनिष्ट क्रियाकलाप बन्द नगर्ने हो भने नेपालमा हामीले भन्दै गरेको समाजवाद सम्भव छैन।’
कांग्रेसको भूमिका कम्युनिष्टलाई पाठ
नेपाली राजनीतिमा नेपाली कांग्रेसको योगदान अमूल्य छ। शान्तिपूर्ण माध्यममार्फत मुलुकलाई सहज तरिकाले अवतरण गराउनमा कांग्रेसको ठूलो भूमिका छ। विगतमा कांग्रेसले पूरा गरेको अभिभाराबाट पाठ सिक्दै वर्तमान कम्युनिष्ट सरकारले सिर्जित समस्याहरू तत्काल समाधान गर्नुपर्छ।
२०६२ र ०६३ को जनआन्दोलनपछि जनयुद्ध छोडेर तत्कालीन माओवादी एमाले र कांग्रेससँगै लोकतान्त्रिक संसदीय व्यवस्थामा आयो। तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाको सन्दर्भमा निर्वाह गरेको भूमिकालाई आजका दिनमा पुनः स्मरण गर्नुपर्ने अवस्था आएको छ।
फेरि द्वन्द्वको शुरुवात
माओवादीलाई कांग्रेसले जंगलबाट ल्याएर २०६४ को पहिलो संविधानसभा चुनाव लड्न लगायो। तत्कालिन माओवादीलाई संसदीय व्यवस्थाको मुलधारमा ल्याएर निर्वाचनसम्म पुर्याउने श्रेय नेपाली कांग्रेसका तत्कालिन सभापति एवम् प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई जान्छ। एक अर्काका विपरित ध्रुवमा रहेका कांग्रेस र माओवादी एक ठाउँमा आएर संघर्ष गर्ने र सत्तासम्म पुर्याउन कांग्रेसले नै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
तर, आज सत्तामा रहेको एउटा कम्युनिष्ट पार्टीले सत्ता बाहिरको अर्को कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको छ। प्रतिबन्धपछि नेकपा विप्लव सत्तासीन नेकपालाई दलाल नोकरशाहीको आरोप लगाउँदै भूमिगत बनेको स्थिति छ।
यस अवस्थामा प्रधानमन्त्री केपी ओलीले उचित संयोजन गर्न सक्नुपथ्र्यो। आजको दिनमा गोलीको सिकार खेल्नु न त ओलीका लागि चुनौतीरहित हुन्छ, न त विप्लवका लागि। शान्तिपूर्ण वार्ताको माध्यमबाट राजनीतिक समाधान निकाल्नु उपयुक्त निकास हो।