प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक गरिएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार उक्त किताब विमोचन गरेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो ६९ औं जन्मदिनको अबसरमा उक्त किताव सार्वजनिक गरेका हुन्।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको दुई सय ४० पृष्ठको उक्त किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त किताब विमोचन कार्यक्रममा प्रधानमन्त्रीका बुवा पनि उपस्थित थिए।

किताब सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले तानाशाहीदेखि लोकतन्त्रसम्म देखेको बताए। ‘नेपाली समाजलाई सुन्दर देख्ने हाम्रो सपना,’ उनले भने, ‘जहाँ अशान्ति, दमन र तानाशाही नहुन्। मान्छेले मान्छेलाई अपमान, शोषण गर्ने परिपाटी नहोस्।’

प्रधानमन्त्री ओलीले देश उर्वर र प्राकृतिक स्रोतले भरिपूर्ण रहेको बताए। उत्पादन र वितरणमा समुचित व्यवस्था भने गर्न नसकिएको उनले बताए।

कृषिजन्य उत्पादन बृद्धिका लागि सरकारले काम गरिरहेको बताए। ‘केमिकलजन्य झोलले मान्छे र देशको अर्थतन्त्र नै बिगार्ने गरेको छ, त्यस्तो कामलाई अहिले हतोत्साहित गरिएको छ,’ उनले भने।

काम गर्न सक्ने युवा शक्ति देशमा भएको भन्दै प्रधानमन्त्री ओलीले दृष्टिकोण र प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता भने चाहिएको बताए। ‘दुई ढुंगाबीचमा हामी छौं भने फैलिन नपाउँला तर यसलाई समृद्ध बनाए पुग्छ,’ प्रधानमन्त्री ओलीले भने।

छिमेकी देशसँग संतुलन राखिएको उनले बताए। ‘सूर्य, पृथ्वी र चन्द्रमा संतुलनमै घुमिरहेको छ,’ उनले भने, ‘दुनियाँ संतुलनका साथ चलिरहेको छ। दुई छिमेकीसँग संतुलन सम्बन्ध राख्छौं।’

तस्बिर: मुकुन्द कालिकोट