गोकुल बास्कोटाको नाममा नाङ्गो पत्रकारिता



‘पत्रकारिता समाजको तेस्रो आँखा हो।’ त्यो आँखामा छारो (धुलो) परेको खण्डमा समाजले सही सूचना र मार्ग दर्शन पाउन सक्दैन। अर्का तर्फ हाम्रो देशमा सञ्चार जगतलाई राज्यको चौथो अङ्ग मानिन्छ। यति ठूलो विश्वास र माने दिइएको नेपाली पत्रकारिता के साच्चै समाज, देश, विद्यमान कानून र पत्रकारिताको भावनाप्रति इमान्दार छ ? आजका दिनमा यो प्रश्नले सकारात्मक उत्तर पाउदैन। यसका धेरै कारणहरु छन्।

पछिल्ला १० वर्षदेखिको नेपाली पत्रकारितालाई हेर्ने हो कम पत्रकारिता बढी पात्रकारिता गरिएको देखिन्छ। पत्रकारिता एक विराट विधा हो। पत्रकारिता आफैमा एउटा विचार हो। त्यसैले सञ्चारकर्मी वा सञ्चारमाध्ययमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति इमान्दार बन्नैपर्छ। यो पत्रकारिताको पहिलाे सर्त हो।

समाचारमा वस्तुनिष्टता, मर्यादित पन र विश्वसनीयता आवश्यक हुन्छ। उल्लेखित कुराहरु सबै हुँदा वित्तिकै समाचार बन्दैन। प्राप्त सूचना सार्वजनिक महत्वको विषय हो कि होइन ? सूचना सभ्य छ कि छैन ? अश्लिता र अराजक सूचनालाई सभ्य र शिष्ट भाषामा प्रकाशन तथा प्रसारण गर्ने कर्तव्य पत्रकारको हुन्छ। त्यो कर्तव्यच्युत हुन पत्रकार आचारसंहिता २०७३ ले छुट दिदैन। सूचनाको नाममा अश्लिलता र अराजक सामाग्री पाठक वा स्रोताको कानसम्म सूनाउन मिल्दैन।

हामी आफूलाई पत्रकार भन्छौ भने माथि उल्लेखित पत्रकारिताका सर्त मान्नैपर्छ। पत्रकारले समाज वा राज्यले दिएको मान सम्मानलाई गर्वकासाथ ग्रहण गर्न लायक बन्नको लागि पेशागत शिष्टता, पाठक वा स्रोताको मर्यादाप्रति सजक बन्नैपर्छ।नेपालमा पत्रकारितालाई मेशिनगनको रुपमा दुरपयोग गरिँदैछ। यो डर लाग्दो विषय हो। पत्रकारिता समाजको लागि भर भरोसा बन्नुपर्छ। डर हाेइन। ब्रेकिङ गर्ने नाममा हतार गरिनु पेशागत वेइमानी हो। सूचनाको प्रकृति र पाठक, स्रोताको मर्यादाप्रतिको ख्याल नगरेर पपुलर बन्न खोज्नु नाङ्गो पत्रकारिता हो।

नाङ्गो पत्रकारिताको एक उदाहरण

निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कमिसन डिल प्रकरणका बारेमा धेरै नेपाली जानकारी छन्। भ्रष्टाचार देख्नै नसक्ने र आर्थिक पारदर्शीताको गफ चुट्ने मन्त्रीको ७० करोड कमिसन काण्डको जति नै भत्सर्ना गरेपनि कम हुन्छ। सम्बन्धित मन्त्रीले राजीनामा दिइसकेका छन्। उनीमाथि स्वच्छ, निश्पक्ष र प्रभावकारी छानविन होस्। सकभर अख्तियारले पनि उनीमाथि छानविन गरोस्। कर्मचारीलाई प्रयोग गरिएका अश्लिल शब्दमाथि पनि छानविन होस्। अब छानविन प्रक्रियाबाट आउने परिणामसम्म यस विषयका बारेमा यहाँभन्दा धेरै शब्द खर्चिनु उचित हुँदैन।

नाकै मूनिको भ्रष्टाचार नदेख्ने तर, समृद्धि, विकास र पारदर्शीताको आडमा यति ठूलो कमिसनखोरी सरकारका सञ्चारमन्त्रीको सूचना बाहिर ल्याउने ‘हाम्रा कुरा’ नामक अनलाइन पत्रिका र उक्त अनलाइनका सम्पादकलाई धन्यवाद। तर, यो धन्यवाद आलोचित छ। के माथि उल्लेखित गरेका सञ्चार माध्ययमका आयामहरुलाई ख्याल गरेर हाम्रा कुरा अनलाइनले बास्कोटाको समाचार प्रकाशित गर्न सफल भयो त? यो गम्भीर प्रश्न हो। सूचना सार्वजनिक हो। बास्कोटाको गोपनीयता यहाँनेर प्रतिकुल मानिएला तर पाठकीय मयार्दाको भने उसले ख्याल गर्न सकेन।

विद्यमान कानूनले अपराधिलाई समेत मार्न पाइन्न भन्छ। आर्थिक सुशासनविपरित र अश्लिल ढंगबाट प्रस्तुत भएका सञ्चारमन्त्रीले जे गरे लगत गरे। उनी बहिष्करणको सिकार बने। हाम्रा कुरा डटकमले सूचनाको नाममा अश्लिल शब्दसहितको सामाग्री किन भाइरल बनायो ? यस्ता संवेदनशील समाचार लेख्दा समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्छ। सूचनाको स्रोत उल्लेख गर्ने नाममा हाम्रा कुराले जसरी अश्लिल सामाग्री प्रशासरण गर्यो, त्यो गलत गर्यो। उक्त कार्यलाई अरुले साहसिक काम भनेका छन्। मेरो यसमा सहमति छैन।

सूचनाको स्रोत र सूचित हुने वर्गको मर्यादा वा गोपनीयताको ख्याल नगरिकन ब्रेकिङको नाममा नाङ्गो पत्रकारिता गर्ने छुट कसैलाई छैन। सूचनाको स्रोत गोप्य राखेर सभ्य र शिष्ट भाषामा समाचार प्रकाशति मात्रै गरे पुग्ने थियो। जस्तै ‘मन्त्री बास्कोटाले ७० करोड कमिसनको डिल गरेको खुलासा’ यति मात्रै समाचारले पनि बास्कोटा आजकै अवस्थामा आउथे।

अडियो टेपमा बोलेका कुराहरु अक्षर मार्फत मात्रै प्रकाशित गरिएको थियो भने हाम्रा कुरा डटकमलाई हृदयदेखि धन्यवाद भन्न सकिने थियो। बास्कोटाले विश्वास नगरेको खण्डमा सम्बन्धित निकायमा जान्थे। ‘हाम्रा कुरा’ डटकमले सूचनाको गोप्यस्रोत मुद्धा परेको खण्डमा वा अति आवश्यक परेको खण्डमा सुनाउन वा देखाउन सक्थ्यो। तर, यहाँ ब्रेकिङका नाममा, पपुलारिज्म र भाइरल बन्ने गलत मनसायका कारण अश्लिल सामाग्री बजार पठाउन हतार गरियो।

मेरै हकमा उक्त सूचनाले लज्जित बनायो। सामुहिक परिवारमा अचानक मन्त्रीको कमिसन डिलको अडियो बजाउन पुगियो। उत्सुकता पूर्वक हामीले उक्त अडियो सुन्दै गयौं, अडियो बज्दै गयो, अचानक बास्कोटाले अश्लिल शब्द बोले त्यसपछि म अडियो बन्द गर्न हतारिए। आमा, बहिनी, भान्जी र छोरीका अनुहार राता पिरा भए। श्रीमतीले मुन्टो बटारेर घर बाहिर जानु पर्यो। यो स्थिति र्सिजना गर्ने अधिकार हाम्रा कुरा अनलाइन र उक्त सञ्चारमाध्ययमका सम्पादकलाई कसले दियो ?

अन्त्यमा, एउटा पक्षले उक्त अनलाइन र उक्त अनलाइनका सम्पादकलाई भगवान घोषणा गरिएको देखिन्छ, यो त झन् लाजमर्दो कुरा हो। कि हाम्रो समाज अश्लिल पचाउने भइसक्यो। त्यो पनि सञ्चार मन्त्री र गनिएको अनलाइन पत्रिकाको ? चिनिएका सम्पदाकको ? जति बास्कोटाले गल्ति गरे, अपराध गरे। त्यो भन्दाबढि आपत्ति जनक काम सञ्चार माध्ययम र पत्रकारले गरे। अरुले गल्ति गर्छ, पत्रकारले अपराध गर्न मिल्दैन। अरुले लाजमर्दो काम गर्लान तर पत्रकारले आपत्तिक जनक वातावरण र्सिजना हुने सूचना प्रसारण गर्न पाईंदैन। पत्रकारिताको आडमा दर्शक र पाठकले रातो, पिरो अनुहार बनाउनु पर्ने सूचना पेशागत पत्रकारिताले दिदैन। चेतना भया।