ओलीका असली चेलाले देशलाई लज्जित बनाए: महासचिव विप्लव


काठमाडौँ। प्रतिबन्धित नेकपा विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बर्खास्तीका लागि उत्रिन सबैमा अपिल गरेको छ। शुक्रबार नेकपाका महासचिव विप्लवद्वारा जारी एक विज्ञप्तिमा ओली नेतृत्वको सरकार देशका लागि अभिशाप भएको उल्लेख छ।

‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घुस) मागेको विषयले देश तरंगित भएको छ। केपी ओली सरकार देशका निम्ति अभिशाप भएको छ। देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ,’ विज्ञप्तिमा भनिएको छ।

विप्लवले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रधानमन्त्री ओलीकै संलग्नता भएको शङ्का गरेको छन्। ठूलो आकारको जहाजकाण्ड आदिमा प्रम ओलीकै संलग्नता देखिन्छ। तसर्थ यस्तो भ्रष्ट, कमिसनखोर र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गर्दछ।’ ओली सरकार राष्ट्रघात, जनघात र फाँसिवादमा डुबेको विज्ञप्तिमा उल्लेख छ।