‘कमिसनखोरी र विचौलियाहरुको नाममा नेकपा सति जानु हुँदैन’


काठमाडौँ। राष्ट्रिय युवा संघका नेता एवं युवा व्यवसायी मेघराज शाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसन, घुसखोरी र विचौलियाको नाममा सती जान नहुने सुझाव दिएका छन्।

वागमती प्रदेशमा पर्ने काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोडको कमिसन वार्ता गरेको अडियो टेप सार्वजनिक भएपछि शाहीले उक्त सुझाव दिएका हुन्।

नेता शाहीले सञ्चारमन्त्रीलाई तत्काल राजीनामा दिन समेत आग्रह गरेका छन्। विहीबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सञ्चारमन्त्रीको कमिसन अडियोका सन्दर्भमा सरकारको आधिकारिक धारणा बाहिर आउनुपर्छ। गोकुल बास्कोटाले तत्काल राजीनामा दिनुपर्छ। नेकपा (नेकपा) कमिसन, घुसखोरी र विचौलियाको लागि सति जानु हुँदैन। हामी जस्ता कार्यकर्ताले फलानो नेता गर्व गर्न लायक छ भन्ने नेतृत्व चाहिन्छ।’

सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ।

सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन्। त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ।

यो पनि पढ्नुहोस्

अनेरास्ववियूद्वारा सञ्चारमन्त्रीको राजीनामा माग

प्रधानमन्त्रीले डेढ महिना पहिले नै सुनेका थिए कमिसन डिल अडियो