अनेरास्ववियूद्वारा सञ्चारमन्त्रीको राजीनामा माग



काठमाडौँ। अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर कमिसनको अडियोबारे छानविन गर्ने बाटो खुल्ला गर्न आग्रह गरेका छन्।

विहीबार सामाजिक सञ्जालमा संयोजक महरले लेखेका छन्, ‘सञ्चारमन्त्री ज्यूले राजिनामा दिएर मार्ग प्रसस्त गर्ने र यो घटनाको सत्य तथ्य छानबिन गरि कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ।’

त्यस्तै संयोजक महरले अर्को स्टाटस लेखेर कांग्रेसले आलम र गच्छदारलाई जोगाउन सडकमा गए जस्तै गरी आफूहरु बाँस्कोटाको पक्षमा सडमा नआउने स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, ‘साथिहरु धैर्य गर्नुस!दोषी भए कानुन बमोजिम गोकुल बास्कोटा सजायको भागिदार हुनेछन।हामी आलम र गच्छेदारलाई जोगाउन सडकमा गएजसरी जाँदैनौं।’

के हाे कमिसन अडियो प्रकरण ?

भक्तपुरको बालकोटस्थित प्रधानमन्त्रीकै निजी निवासमा बस्दै आएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ।

सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन्। त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ।

‘यस्तो कुरामा यी मु‘ कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्‘’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु‘।ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस्।’

अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ। अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन्,‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ।। समय मिलाउनुहोला।’

२ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ। मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ।

सूत्रहरुका अनुसार मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र हुन्। मन्त्रीसँग एमओयु गर्ने र कमिसन लेनदेन गर्ने कुराकानी भइसकेपछि मन्त्री पछि हटेपछि स्वीस एजेन्टले अडियो ‘लिक’ गरेको देखिन्छ।