काठमाडौँ। वागमती प्रदेशको काभ्रे जिल्लामा स्थापना गर्न लागिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटले बार्गेनिङ गरेको कमिसनअडियो सार्वजनिक भएको छ।
उक्त अडियो सार्वजनिक भएसँगै कांग्रेसले सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ। बिहीबार बिहान कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटाको बर्खास्तीको माग गरेको हो।
विज्ञप्तिमा कांग्रेसले भनेको छ, ‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए। तर, स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन कांग्रेस सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ।’