दोस्रो कर्णाली एक्स्पो आजदेखि सुरु



तस्बिरः ध्रुव बुढाथोकी

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबारदेखि दोस्रो कर्णाली एक्स्पो सुरु भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले वीरेन्द्रनगर सर्खेत पुगेर उक्त एक्स्पोको उद्घाटन गरेका छन्।

उपराष्ट्रपतिसँगै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एक्स्पोलाई सम्बोधन गरेका छन्। एक्स्पोलाई सम्बोधन गर्ने वक्ताहरुले कर्णाली आर्थिक विकास र जन जीवनलाई माथि उठाउन आफ्नो स्थानबाट प्रयासहरु भइरहेको जानकारी दिएका छन्। एक्स्पो आगामी फागुन १७ गतेसम्म चल्नेछ।

त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघले उपराष्ट्रपति नन्दबहादुर पुनलाई १७ बुदे माग पेश गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको दोश्रो कर्णाली एकस्पोको उद्घाटनमा सहभागी हुन सुर्खेत आउनु भएका उपराष्ट्रपति पुन समक्ष संघले कर्णाली प्रदेशको विकासका निम्ती पहल गरिदिन भन्दै ज्ञापनपत्र पेश गरेको हो।

ज्ञापनपत्रमा विद्युत विस्तारलाई तिब्रता दिन, सडक संजालको स्तरउन्नती गर्न र यस क्षेत्रका गौरवका आयोजनाहरुलाई छिटो संचालनमा ल्याउन सरकारका तर्फबाट गर्नु पर्ने आवश्यक नीतिगत तथा भौतिक पूर्वाधार निर्माणको कार्य यथाशीघ्र शुरु गर्न पहल गरिदिन भनिएको छ।

त्यस्तै ज्ञापनपत्रमा पर्यटकीय क्षेत्रको प्रबर्द्धन र लगानी आकर्षण गर्न आवश्यक नीति निर्माणमा पहल गर्न र प्रदेशलाई अर्गानिक बनाउनका लागि आर्गानिक कृषि अनुसन्धान केन्द्र स्थापना लगाएत आवश्यक नितिगत तयारीका लागि पहल गर्न सहयोग गरिदिन भनिएको छ।