देशभरका विद्युतीय तार भूमिगत गर्ने अभियान सुरु: मन्त्री पुन


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले देशभरका विद्युतीय तार भूमिगत गर्न लागिएको बताएका छन्।

सोमबार विद्युतका तार भूमिगत गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पुनले तार भूमिगत गर्ने योजनालाई आगामी दिनमा देशभर नै विस्तार गर्ने लक्ष्यसाथ काम भइरहेको र एकाध वर्षभित्रै पूर्णता पाउने विश्वास व्यक्त गरेका छन्।

मन्त्री पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी लगायतका आयोजना सम्पन्न गरी कूल एक हजार मेगावाट विद्युत् थप हुने बताए।

उनले सरकार गठन भएपछि राष्ट्रिय प्रणालीमा थप ४०० मेगावाट विद्युत् थप भएको तथ्यांक पेश गर्दै नेपालले केही वर्षभित्रै विद्युत् निर्यात गर्ने उल्लेख गरे।

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि रणनीतिक महत्वका योजना अगाडि सारेको जानकारी दिँदै उनले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा त्यस क्षेत्रलाई लिइएको बताए।