महरा र शिवमायाका लागि फागुन ५ ऐतिहासिक दिन



काठमाडौँ। बलात्कार प्रयासको आरोप लागेपछि गत असोजमा राजीनामा दिएका तत्कालीन सभामुख कृष्णबहादुर महराले अदालतबाट अन्ततः सफाइ पाएका छन्।

सोमबार जिल्ला अदालत काठमाडौँबाट उनले सफाइ पाएका हुन्। संयोगवस्, महराले सफाइ पाएकै दिन तत्कालीन उपसभामुख शिवमाया तुम्बाङ्फेले मन्त्री पद प्राप्त गरेकी छन्।

महराको राजीनामापछि केही समय सभामुखको कार्यवाहक भूमिकासमेत निर्वाह गरेकी शिवमायाले सभामुख बन्ने चाहना राखे पनि पार्टीबाट स्वीकृति पाइनन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने भएपछि उपसभामुख शिवमायाले राजीनामा दिएकी थिइन्। संवैधानिक बाध्यताका कारण शिवमायाले उपसभामुख पद त्याग्नु परेको थियो।

संविधानअनुसार एउटै दल र लिङ्गबाट सभामुख र उपसभामुख हुन नमिल्ने भएपछि नेकपाले शिवमायाको राजीनामा माग गरेको थियो। यद्यपि लामो समयसम्म शिवमायाले राजीनामा नदिने अडान राख्दै आएकी थिइन्।

संयोग नै मान्नुपर्छ, तत्कालीन सभामुख महरा सोमबार अदालतबाट निर्दोष ठहर भई हिरासतमुक्त भएकै दिन तत्कालीन उपसभामुख शिवमायाले पनि ‘न्याय’ पाएकी छन्।

उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाएकी हुन्। नेकपाले सभामुख पद आफूले नै लिने दावी गरेपछि संविधानको प्रावधानअनुसार उपसभामुख पद शिवमायाले त्याग्नुपर्ने संवैधानिक बाध्यता थियो। कतिपयले शिवमायाको राजीनामालाई ‘उनीप्रतिको अन्याय’ भन्दै आएका थिए।

यद्यपि फागुन ५ गतेका दिन महरा र शिवमाया दुवैले न्यायको अनुभूति गरेका छन्। महराले आफूमाथि लागेको ‘कलंक’ न्यायालयमार्फत पखालेका छन् भने शिवमायाले विना कसुर उपसभामुख पदबाट राजीनामा दिनु परेको परिस्थितिमा यतिबेला मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउनुलाई पनि ‘न्यायानुभूति’का रुपमा लिन सकिन्छ।