निवर्तमान सभामुख महराले पाए सफाइ



काठमाडौं। बलात्कार आरोपमा कारागार चलान गरिएका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। सोमबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, सोमबार सफाइ दिने फैसला सुनाएको हो।

प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो ।

त्यसबेला महरा र उनको सचिवालयले आरोप अस्वीकार गरेको थियो। त्यसवेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए। तर, महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेकाे थियाे।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो। लगतै महराले सभामुख पदबाट राजीनामा दिए। यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन्। उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको नयाँ भिडियो सार्वजनिक भयो, जसमा उनले बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन्।

पीडित भनिएकी महिलाले अदालतमा पनि बलात्कार प्रयास नभएको बयान दिएकी थिइन्। तर, उपलब्ध प्रमाणका आधारमा महरालाई कसूरदार होइनन् भनी मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो।

डिल्लीबजार कारागारमा रहेकै अवस्थामा महरा उच्च अदालतमा पुगे, उच्चले जिल्लाको आदेश सदर गर्‍यो तर, मुद्दाको अन्तिम फैसला छिटो गर्न आदेश दियो। त्यस अनुसार सुरू भएको बहस आइतबार नै सकिएको थियो।