उत्तर कोरियामा कोरोनाभाइरसका बिरामीलाई मृत्युदण्ड



काठमाडौँ। उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको रिपोर्टले बताएको छ। क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको बताइन्छ।

ती अधिकारीलाई उक्त घातक रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको भन्दै तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको दक्षिण कोरियाली समाचार एजेन्सीले बताएको छ।

स्रोतका अनुसार ती अधिकारीलाई चीनबाट फिर्ता आएपछि एकान्तमा राखिएको बताइएको छ। उत्तर कोरियाली नेता किम जोङ्ग ऊनले जारी गरेको क्वारेन्टाइनबाट कुनै अनुमती बिना बाहिर निस्कन नपाउने आदेशलाई उनले नटेरी बाहिर निस्किएको बताइन्छ।

उत्तर कोरियाले अहिलेसम्म कुनै पनि संक्रमितको पुष्टि गरेको छैन। स्रोतले बताए अनुसार उक्त देशमा चीनबाट फर्किएकाहरु र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राखिएको छ। एजेन्सी