काठमाडौँ। राजधानीको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा दुई विद्यार्थी समूहबीच कुटाकुट भएको छ। सोमबार बिहान दुई समूहबीच कुटाकुट भएपछि प्रहरी परिचालन गरिएको थियो।
नेविसंघले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूले आक्रमण गरेको दाबी गरेको छ। तर, अनेरास्ववियूले भने झगडा सांगठानिक नभएको स्पष्ट पारेको छ।
स्वतन्त्र विद्यार्थी युनियन (आरआर) का सभापति तपेन्द्रजंग शाहीले अनेरास्ववियू र नेविसंघबीच झगडा नभएको स्पष्ट पारेका छन्।
उनले कर्णाली सन्देशसँगको कुराकानीमा भने,‘विए प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीका बीचमा सामान्य झगडा भएको रहेछ। स्ववियु सभापतिका नाताले हाम्रो क्याम्पसमा अध्ययन गर्न आउने सबै विद्यार्थी समान छन्। केही साथीहरुलाई प्रहरीले पक्राउ गरेर पुलिस क्लवमा राखेको थियो। भरखरै मैले छुटाएर पठाई सकेको छु।’
नेविसंघले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूका केटाहरुले आक्रमण गरेको आरोप लगाएको छ नि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘यो एकदमै भ्रम हो। बरु नेविसंघले नै बाहीरका केटाहरु ल्याएर आरआरमा झगडा गर्ने, शैक्षिक वातावरणलाई विगार्ने गर्दै आइरहेको छ।’
नेविसंघका महामन्त्री दीपक भट्टराईले कक्षाकोठामा पढ्न जाँदै गरेका आविष्कार पौडेल, सुमन खड्का र कुशल बस्नेतमाथि आक्रमण भएको दाबी गरेका छन्। प्रहरीले घटनापछि नेविसंघ समर्थित विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले बताए।
पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरूङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा राखेको थियो।