मुस्लिम सम्मेलन रोक्नु बहिष्करणको अभ्यास: नरबहादुर कार्की


काठमाडौँ। सामाजिक अभियन्ता एवं अन्तर्राष्ट्रिय मोटीभेटर नरबहादुर कार्कीले सरकार धार्मिक बहिष्करणको अभ्यासमा उत्रिएको आरोप लाएका छन्।

गृहमन्त्रालयले यहि फागुन २ गते पत्रकारगर्दै मुस्लिम समुदायको ‘राष्ट्रिय धार्मिक सम्मेलन’ रोक्न निर्देशन दिएपछि अभियन्ता कार्की यस्तो आरोप लगाएका हुन्।

यसै सन्दर्भमा सामाजिक अभियन्ता कार्कीले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानिमा भनेका छन्, ‘मुस्लिम सम्मेलन गर्न रोक लगाउनु (म्यानमारी शैलीको धार्मिक बहिष्करण, मोदी शैलीको असहिष्णुता, ट्रम्प शैलीको प्रशासनिक बिभेद र धर्म निरेपेक्षताको उपहास हो। सुरक्षा चासो र चिन्ता भए त्यसलाई अनुगमन गर्न सरकार सक्षम हुनुपर्छ।’

उनले अगाडि भने, ‘आफू तिब्बतको मामला उक्साउने तर अर्को देशमा अल्पसंख्यकको अधिकारमाथि हस्तक्षेप पनि गर्ने दादाहरु को को हुन ? बिडम्बना के हो भने ईस्लामलाई चाइना, ईन्डिया, अमेरिका र युरोप सबैले अछुत बनाएका छन्। मुस्लिमको हृदयमा प्रेम जागृत हुन नदिने यिनै दादाहरुको कारण दुनियाँमा आज करोडौ जनताले दुःख पाइरहेका छन्।’

अभियन्ताका कार्कीले सरकार मुस्लिम समुदायको भावनामाथि खेलवाड गर्न थालेको भन्दै सचेत बन्न आग्रह गरेका छन्। उनले भने, ‘एउटा कुनै धर्मको बारेमा सरकारले आफै आयोजक हुन मिल्छ। तर, सूरक्षाको नाम दिएर मुस्लिम समुदायको सम्मेलनसमेत रोक्ने मुर्खता गर्दैछ। यो भन्दा बहिष्करणको अर्को उदाहरण अरु के हुन सक्छ ? यसरी आफ्ना देशका मुस्लिम नागरिकमाथि प्रस्तुत हुने हो भने सोच्नुस् कस्तो प्रभाव पर्ला ? अवस्था र आधारभुत साँस्कृतिक अभ्यास गर्न बन्देज लगाइनु हुन्छ, सोच्नुस् तपाईंको धर्ममा भएको शान्ति, प्रेम र मानवता मौलाउन पाईंदैन र आक्रोश मात्रा बाँकी रहन्छ। अनि के हुन्छ र संसारमा कसरी शान्ति हुन्छ ?’

मुस्लिम सम्मेलन रोक्न गृह मन्त्रालयको निर्देशन

नेपाली मुस्लिम समुदायले सप्तरीमा आयोजना गर्न लागेको धार्मिक सम्मेलनसँग सम्बन्धित गतिविधिहरु तत्कालका लागि स्थगित गर्न फागुन २ गते गृह मन्त्रालयले निर्देशन दिएको थियो।

जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गर्दै गृह मन्त्रालयले सम्मेलन सञ्चालनका लागि तोकिएका शर्तहरु पालना नभएको भन्दै तत्कालका लागि स्थगित गर्न भनेको हो।

१ लाखको हाराहारीमा मुस्लिम धर्मावलम्बीहरु सहभागी हुने भनिएको उक्त सम्मेलनमा नेपाल र भारतका मुस्लिम धर्मावलम्बीलाई मात्रै सहभागी गराइनुपर्ने गृह मन्त्रालयको शर्त थियो। आयोजकहरुले गृह मन्त्रालयको शर्त स्वीकार पनि गरेका थिए।

तर, पछिल्लो समय सीमा क्षेत्रबाट सम्मेलनमा सहभागी हुने भन्दै तेस्रो देशका मुस्लिम धर्मावलम्बी पनि नेपाल प्रवेश गर्न थालेपछि गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्र लेख्दै सम्मेलनको काम रोक्न भनेको हो।

गृह मन्त्रालयको पत्र पछि जिल्ला प्रशासन कार्यालय सप्तरीले नेपाल–भारत सीमा क्षेत्रबाट सम्मेलनमा सहभागी हुने भनेर नेपाल आउने सबै व्यक्तिको प्रवेशमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले सीमा–नाका सिल गरेर प्रवेशमा कडाइ गरिएको जानकारी दिए।

‘गृह मन्त्रालयले सम्मेलन रोक्न भनेर बिहीबार पत्र पठाएको छ। गृहको पत्रपछि हामीले सीमा नाका सिल गरेर सम्मेलनमा सहभागी हुने भनेर आउने व्यक्तिको प्रवेशमा रोक लगाएका छौं,’ प्रशासकीय अधिकृत कट्टेलले खबरहबसँग भने, ‘आयोजकहरु अहिले नेपाल र भारतका मुस्लिम धर्मावलम्बीलाई मात्रै राखेर अन्य देशबाट आएकालाई फिर्ता पठाउन राजी हुनुभएको छ। यस विषयमा हामीले गृह मन्त्रालयलाई पनि जानकारी गराएका छौं।’

नेपाली मुस्लिम समुदायका अगुवाहरुको समन्वयमा सप्तरीको बोदे बर्साइन नगरपालिकामा फागुन ३ देखि ५ गतेसम्म ‘राष्ट्रिय धार्मिक सम्मेलन’ आयोजना गर्ने भनिएको थियो। सम्मेलनमा भारतकै पुरानो मस्जिदमध्येको दिल्लीस्थित निजामुद्दीन मरकजका धार्मिक गुरु प्रमुख अतिथिको रुपमा सहभागी हुने भनिएको थियो।