चीनबाट १७५ जना नेपाल घर फर्किए, ६ जना फर्कन पाएनन्


काठमाडौँ। कोरोनाभाइरसको केन्द्र रहेको चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन्। हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।

दूतावासका अनुसार तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेका थिए भने छ जना फर्कन पाएनन्। दूतावासका अनुसार चार जनामा ज्वरो देखिएको थियो भने दुई जना उनीहरूको परिवारका सदस्य हुन्।

उनीहरूलाई उद्धार गर्न नेपाल वायु सेवा निगमको वाइडबडी विमान पुगेको थियो। विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो। विमानस्थलबाट उनीहरुलाई सीधै क्वारेन्टाइनका लागि भक्तपुर लगिएको थियो।