कर्णालीमा कुष्ठरोगका ८९ बिरामी फेला



सुर्खेत। आर्थिक वर्ष २०७५-७६ मा कर्णाली प्रदेशमा कुष्ठरोगका ८९ नयाँ बिरामी फेला परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार अघिल्लो वर्षको भन्दा गत आव २०७५(७६ मा कम नयाँ बिरामी फेला परेका हुन्।

निर्देशनालयले सुर्खेतमा २२ ,जाजरकोटमा १९, जुम्लामा पाँच, हुम्लामा दुई, डोल्पामा दुई जना फेला परेका जनाएको छ। त्यस्तै, दैलेखमा नौ, कालीकोटमा सात, मुगुमा पाँच, रुकुम पश्चिममा सात, सल्यानमा ११ गरी प्रदेशभर ८९ नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्।

स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले कुष्ठरोग वर्षेनि न्यूनीकरण हुँदै गए पनि निर्मूल हुन नसकेको बताए। यसले छाला र नशामा असर गर्ने भएकाले सतर्कता अपनाउन उनको सुझाव छ। गाउँघरमा अझै पनि कुष्ठरोगको लक्षण देखिएमा लुकाउने प्रवृत्ति रहेको भन्दै निर्देशक जोशीले नियमित र समयमै औषधि सेवन गरे निराकरण हुने बताए।

साइनिङ अस्पताल, सुर्खेतका प्रमुख मङ्गल चौधरीले कर्णालीमा कुष्ठरोग निराकरण सकारात्मक गतिले अघि बढेको बताए। अस्पतालले कर्णालीका कुष्ठरोगका बिरामीको निःशुल्क उपचार गर्दै आइरहेको छ।

आइएनएफले मुलुकभर तीन हजार २८२ नयाँ कुष्ठरोगका बिरामी फेला परेकामध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा एक हजार ४८४ थपिएका जनाएको छ। रासस