जागिर जोगाउन पार्टी परिर्वतन गर्नु भएको हो: संयोजक शाही



कालिकोट। नेपाली कांग्रेसको भ्रातृ संगठन तरुणदलका दई जना नगरकमिटी सदस्य नेकपामा प्रवेश गरेका छन्। २५औं जनयुद्ध दिवसका अवसरमा जिल्लाको राष्कोट नगर कमिटी सदस्य कालिविक्रम शाही र मनिमान शाही कांग्रेस पार्टी परित्याग गरेका हुन्। त्यस्तै बिहीबार सम्पन्न कार्यक्रममा कांग्रेसलगायत राप्रपा र अन्य राजनीतिक दलका २० जना नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्।

उनीहरुलाई नेकपा नगरकमिटी अध्यक्ष धर्मराज शाही, नगर प्रमुख काशिचन्द्र बराल र नगरकी उपप्रमुख मिमसरा शाहीले पार्टीमा स्वागत गरेकी छन्। यता तरुणदल राष्कोट नगरपालिकाका संयोजक सुरेश शाही ‘शेरसिंह’ ले भने जागिर जोगाउन उनीहरुले पार्टी परित्याग गरेको प्रतिक्रिया दिएका छन्।

नगरकमिटी सदस्यहरु नेकपामा प्रवेश गरेको विषयका बारेमा तपाईंको प्रतिक्रिया के छ ? भनेर सोसोधिएको प्रश्नको जवाफमा उनले भने, ‘कांग्रेस अविरल बग्ने नदी हो। नदीमा एक गाग्री पानी मिसाउनु र एक गाग्री पानी झिक्नुले केही फरक पार्दैन। कोही छोड्छन्। कोही आउँछन्। यस्तो प्रक्रिया चहिरहन्छ। अर्को कुरा उहाँहरु जागिरमा पनि संलग्न हुनुहुन्थ्यो। त्यो जागिर जोगाउनलाई पनि पार्टी परिर्वतन गर्नु भएको हो।’