रुकुममा मनाईयो २५औं जनयुद्ध दिवस



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस मनाएको छ। बिहीबार (नेकपा) को पार्टी केन्द्रीय कार्यालय काठमाडौँलगायत देशभर २५औँ जनयुद्ध दिवस मनाएको हो। विगतका आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको स्मरणमा उक्त दिवस मनाएको हो।

यसै क्रममा जनयुद्धको गृह भूमिका रुपमा रहेको रुकुममा पनि जनयुद्ध दिवस मनाइएको छ। पश्चिम रुकुमको मुसीकोटमा सहिदहरुको सम्झनामा भव्य पार्कको निर्माण गरिएको छ। संघीय संसद् क्षेत्र विकास कोषको करिब २ करोड रुपैयाँको लागतमा उक्त पार्क निर्माण गरिएको हो।

कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’, रुकुममा कम्युनिस्ट पार्टी स्थापनामा योगदान पुर्याउने बासुदेव गौतम, रुकुम कम्युनिस्ट पार्टीका संस्थापक सदस्य ध्रुव मल्ल र तारा प्रसाद घर्तीले उक्त पार्कको संयुक्तरुपमा उद्घाटन गरेका हुन्।

मुसीकोट नगरपालिका ५ स्थित सेरीगाउँमा करीब ७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कभित्र सभाहलसमेत रहेको छ। पार्कभित्र जनयुद्धका क्रममा रुकुमबाट सहिद हुनेहरुको नामावलीका साथै युद्ध स्मारक पनि निर्माण गरिएको छ।

यस्तै पार्कभित्र नेकपा रुकुम जिल्लाका संस्थापक नेताहरु कामी बूढा र स्कन्द शर्माको शालिक पनि निर्माण गरिएको छ। माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा बढी प्रभावित जिल्ला मानिने रुकुममा ५२५ भन्दा बढीले ज्यान गुमाएका थिए।

संघीय लकतान्त्रिक गणतन्त्रलाई नेपाली जनताले गरेको महान जनयुद्ध र जनक्रान्तिको ठुलो उपलव्धिका रुपमा लिइन्छ। २०५२ फागुन १ गते सुरु भएको जनयुद्ध १० वर्षसम्म जारी रहेको थियो। उक्त युद्धमा १७ हजार नेपालीले ज्यान गुमाउनु परेको थियो भने हजारौँले घाईते, अपाङगता र वेपत्ता हुनु परेको थियो।

तस्बिर: ध्रुव बुढाथोकीको फेशबुकबाट