पोखरामा कोरोना भाइरसको प्रभाव: विदेशीको संख्या घट्यो



काठमाडौँ। छिमेकी राष्ट्र चीनमा कोरोनाभाइरसको संक्रमण देखिएपछि पोखरा यतिबेला सुनसान छ। अरु बेला विदेशी पर्यटकको आवागमनले भरिभराउ देखिने लेकसाइड खाली देखिन्छ।

‘गोरा देखे पनि अहिले त रहरै लाग्न थालिसक्यो, अस्ति १५ जना आएका थिए हाम्रोमा,’ पोखरास्थित बिजी बी रिसोर्टका सञ्चालक ज्याक तामाङले भने, आन्तरिक पर्यटकको आगमनमा कमी नआएपनि विदेशी पर्यटकहरु पोखरामा ह्वात्तै घटेको व्यवसायीहरु बताउँछन् । फाट्टफुट्ट बाहेक विदेशी पर्यटकहरु आउन छाडेको पर्यटन व्यवसायीको भनाइ छ । ‘गोराहरु आउन त ठप्प भयो।

चिनियाँहरुको मुख्य चाड ‘लोहार फेस्टिभल’ को मुखैमा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको आगमन ठप्प भएको व्यवसायीहरु बताउँछन् । पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनका अनुसार यतिबेला चिनियाँ पर्यटकको आगमन ठप्प छ । फेस्टिभलको छेको पारेर नेपाल आउने पर्यटकको संख्या कोरोनाभाइरसको कारण रोकिएका छन् ।

नेपाल आउने चिनियाँ पर्यटकको संख्या लगभग डेढ लाख प्रतिवर्षको हाराहारीमा रहेको उनले सुनाए । नेपाल आउन चिनियाँ पर्यटकले गराएका धेरैजसो बुकिङ रद्द भइसकेको उनले बताए । ‘यो सिजनमा पोखरामा ३५ देखि ४० प्रतिशत पर्यटक हुनुपर्ने हो,’ उनले भने, ‘त्यसमा पनि २५ प्रतिशत चिनियाँ हुनुपर्ने हो । अहिले एकदमै न्युन छ ।’ पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल कोरोनाभाइरसका कारण पोखरामा आत्तिनुपर्ने अवस्था नभएको बताउँछन् । ‘विश्वव्यापी रुपमा प्रभाव नेपालमा नपर्ने भन्ने होइन,’ उनले भने, ‘तर, कोरोना भाइरसको कारण हामी आत्तिनुपर्ने अवस्था छैन । कोरोनाको संक्रमण भएको व्यक्ति कोही पनि पोखरामा भेटिएको छैन ।’

प्रकोपको रुपमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण चीनमा मात्रै ३ सय बढीले ज्यान गुमाइसकेका छन् । यसैबीच चीनमा देखिएको नोबल कोरोनाभाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा पनि परेको छ । कोरोनाभाइरसका कारण चीनबाट आउनु पर्ने एक सय कामदार चीनमै रोकिएको विमानस्थल आयोजनाले जनाएको छ ।

यद्यपि, पर्यटन व्यवसायमा कोरोनाभाइरसको प्रभाव परे पनि भ्रमण वर्ष २०२० नै असफल हुन्छ भन्ने पक्षमा सरोकारवाला निकाय छैन । भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सह-संयोजक अग्नि कँडेलले कोरोनाभाइरसको कारण पर्यटन व्यवसायमा केही असर परे पनि भ्रमण वर्ष नै असफल भयो भनेर भन्न नमिल्ने बताउँछन् । अहिले यसका कारण पोखरामा भित्रिनेभन्दा बाहिरिने पर्यटकको संख्या बढेको छ।