गृहमन्त्रीका भाइ नरेश थापालाई थुनामा राख्न आदेश



काठमाडौँ। उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापा (बादाल) का भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो।

‘फिरौती’ उठाउने गिरोहसँगको मिलिभगतमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगसहित थापालगायत व्यक्ति पक्राउ गरी मुद्दा चलाइएको थियो। काठमाडौं अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोज १ मा १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

थापासहितका ६ जनाले थुनामा रहेका विवादास्पद अभियुक्त समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीबाट रकम असुलेको अभियोग थियो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका एक अभियुक्त समीरमानसिंहले जेलबाटै चलाएको असुलीसँग जोडेर प्रहरीले पक्राउ गरेको थियो। गौचनको ०७४ असोज २३ मा नयाँ बानेश्वरको शान्तिनगर ठूलो खरिबोटनजिक दिउँसै हत्या भएको थियो।

ठेकेदारहरूलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेपछि प्रहरीको विशेष ब्युरोले पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेपछि दुवैले थापालाई पोलेका थिए। नख्खु कारागारमा राखिएका समीरमानसिंहले जेलभित्रैबाट फिरौती धन्दा चलाएपछि मुस्ताङ कारागार सारिएको थियो।

जिल्ला अदालतले अन्य पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाए पनि थापालाई न्यून धरौटीमा मुक्त गरेपछि हिरासतमै राखेर पुर्पक्ष गर्नुपर्ने मागसहित सरकारी वकीलको कार्यालय उच्च अदालत पुगेको हो।