डीआईजीमा ठाकुर ज्ञवाली प्रस्ताव



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजीपी) मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिएको कान्तिपुर दैनिकमा समाचार छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा आईजीपी चयनको टुङ्गो नलागेपछि प्रधानमन्त्री ओलीले मङ्गलबार बस्ने बैठकमा ज्ञवालीको नाम पेस गर्न गृहमन्त्री रामबहादुर थापा र मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका हुन्।

‘गृहमन्त्री थापा र मुख्यसचिव रेग्मीलाई बोलाएर प्रधानमन्त्रीले आईजीपीमा ज्ञवालीको नाम मङ्गलबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न निर्देशन दिनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यहीअनुसार प्रस्ताव तयार गरिनेछ।’ आईजीपी सवेन्द्र खनाल, ३ एआईजी पुस्कर कार्की, ठूले राई र धीरु बस्न्यात तथा १८ डीआईजीहरु मङ्गलबारबाट एकैपटक अवकाश हुँदैछन्।

तर, अवकासको अघिल्लो दिनसम्म सरकारले भावी आईजीपी को भन्ने निर्णय गर्न सकेन। मन्त्रिपरिषद्ले सोमबारै भावी आईजीपीमा ज्ञवाली वा सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल मध्ये एक जनालाई चयन गर्ने आँकलन गरिएको थियो। तर, ३० वर्षे विवादपछि प्रधानमन्त्री ओलीले मङ्गलबार पुनः बैठक बस्ने भन्दै टुङ्ग्याएका थिए। मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ।