पूर्वसचिव अर्जुनकी पत्नी मुनाको हत्या कामदारले नै गरेको पुष्टी



काठमाडौँ। ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको पुष्टि भएको छ। पूर्वसचिव कार्कीको निवासमा जडान गरिएको सीसीटीभीको फुटेज हेरेर कामदारले नै हत्या गरेको निष्कर्ष निकालिएको हो।

प्रहरीले कामदार २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको जनाएको छ। अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुन सक्ने आशंका प्रारम्भमै गरिएको थियो।

भान्छा छेऊमा रहेको क्लोज सर्किट (सीसी) क्यामराको दृश्य हेरेपछि अनुसन्धान अधिकृत चौधरीले नै हत्या गरेको निष्कर्षमा पुगेका छन्। एक प्रहरी अधिकृतको अनुसार फुटेजमा बिहान ९ बजे चौधरीले महिलालाई घाँटीमा समातेर घिसार्दै लगेको देखिन्छ।

प्रहरीका अर्का उच्च अधिकृतले पनि फुटेजमा चौधरीले मुनालाई आक्रमण गरेको देखिएको पुष्टि गरेका छन्। यद्यपि, दुईबीच के रिसिबी थियो भन्ने खुलिसकेको छैन। प्रहरीले हत्याको कारण खोज्दै विभिन्न व्यक्तिसँग बयान लिने क्रम जारी राखेको छ।

छिमेकीले चौधरी सानैदेखि कार्कीको घरमा बस्दै आएको बताएका थिए। प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की घरमा थिएनन्। उनी बिहानै उठेर पशुपतिनाथको दर्शन गर्न गएका थिए।

फर्किएर आउँदा उनले श्रीमती मुनालाई अचेत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए। लगत्तै मुनालाई उद्धार गरेर स्टार हस्पिटल पुर्याइएपनि चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जनाए।