कालिकोट। जिल्लाको पलाँता गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गापा अध्यक्ष लक्ष्मण बमले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।
२५औं जनयुद्ध दिवसको सन्दर्भ पारेर पलाँतामा खेलकुद कार्यक्रमसमेत आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष बमको भनाई छ। जनयुद्धका शहीदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखी निरा स्मृति कप सञ्चालन गर्दै आएको छ।
उक्त कपमा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिने गरेका छन्। कपमा छात्रा र छात्रहरुका टिमहरुबीच छुट्टाछुट्टै भलिबल प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ।
फागुन एक गतेबाट पलाँता गाउँपालिकाले सार्वजनिक यातायात सञ्चालन गर्दैछ। त्यसैगरी आगलागी पछि पुनर्निर्माण गरिएको खाडाको बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री तथा सांसदलगायत सम्पुर्ण राजनीतिक दल र सरोकारवालालाई आमन्त्रण गरिएको गाउँपालिका अध्यक्ष बमले जानकारी दिए।
पलाँतामा पर्यटनको प्रचुर संभावना रहेको उल्लेख गर्दै पर्यटकिय क्षेत्रको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटनको आगमनमा वृद्धि गरि गाउँपालिकालाई समृद्धि बनाउने पलाँता सरकारको लक्ष्य रहेको उनले बताए। पर्यटन, उर्जा, कृषि, उधोग र आधुनिकीकरणले मात्र बिकास र समृद्धि संभव रहेको बताउदै बमले स्रोत साधनहरुको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिए।
बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन पलाँता सरकारले युवा लक्षित कार्यक्रम संचालन गरेको बताउदै गाउँमा नै रमाउन प्रेरणा प्रदान गरीएको उनले जानकारी दिए। अध्यक्ष बमले पलाँता गाउँपालिकाको विकासमा कुनै पनि कमि हुन नदिने बताउदै विकासको मुल फुटाउदै आफ्नो पहलमा अबको २ बर्ष भित्रै पलाँता भित्रका मोटर बाटो स्तरोन्नति गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्।