जुम्ला। नेपाली कांग्रेस जुम्लाले संघीय राजधानी काठमाडौँ स्थित बालुवाटारको सरकारी जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदार विरुद्ध पक्षपाति रुपमा अख्तियारले अदालतमा मुद्धा दर्ता गराएकोमा भन्दै विरोध प्रदर्शन गरेको छ।
केही दिनअघि अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आइतबार कांग्रस जुम्लाले नेकपाका नेता र निकटका व्यक्तिलाई उन्मुक्ति दिएएको भन्दै आन्दालेनमा उत्रेको जनाएको छ।
त्यस्तै कांग्रेस पार्टीले आइतबारको संसद वैठकसमेत अवरुद्ध गरेको छ। उसले सडक र संसदबाट एकसाथ विरोध गरिरहेको छ। यसै सन्दर्भलाई लिएर नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्धाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ। लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन ?’
उनले अगाडि लेखेका छन्,‘सरकार प्रतिशोधको राजनीतिमा र राज्यका जिम्मेवार संवैधानिक निकायहरू त्यही सरकारको अभिष्ट पूरा गर्ने उपकरणका रूपमा ईशारामा चल्न थालेपछि देशको कुन दुर्दशा होला। नेल्सन मण्डेलाले आफूले जेलमा पान िमाग्दा पिसाव खुवाउने जेलरसँग प्रतिशोध साध्न सक्थे। तर, एउटा होटेलमा अकस्मात भेटिएका र मण्डेलालाई देखेर असाध्यै डराएका जेलरलाई छेउमा बोलाएर खाना खुवाएर पठाउने मण्डेलाको उच्च राजनीतिक संस्कार र उदारवादी भावना एवं ब्यबहार जस्ता दृष्टान्तहरूले नै संसारमा लोकतन्त्रलाई निर्विकल्प र सुन्दर तुल्याएको हो। संवैधानिक निकायहरुले सँधै भरि तटस्थता अवलम्बन गर्नु पर्दछ।’
नेता शाहीले संवैधानिक निकायले आफ्नो मर्यादा कायम गर्नुमा सुझाव दिएका छन्। उनले लेखेका छन्,‘जिम्मेदारी प्राप्त गरेपछि उनिहरूले राष्ट्रका लागि काम गर्ने हो र संस्थाको मर्यादाको ख्याल गर्ने हो। योग्य ब्यक्ति अरूलाई रिझाउन लाग्दैन, सिफारिशकर्ताप्रति अनुगृहित भएर आफ्नो जिम्मेवारी पनि भुल्दैन,आफ्नोे कामले अब्बल सावित हुन्छ र दुनियाँमा पुजनीय बन्छ।’
नेता शाहीले नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई स्मरण गर्दै लेखेका छन्, ‘कुलमान घिसिङ सरकार र नेता रिझाउन लागेका भए देश यति उज्यालो हुने थिएन। अरूलाई रिझाएर आफ्नो दुनो सोझ्याउने र कर्तब्य बिर्सने ब्यक्तिहरु दासका राम्रा उदाहरण हुन्। अख्तियारको शब्दकोशमा राजनीतिक पूर्वाग्रह हुनु हुदैन। व्यक्तिको सफलता जीवनमा शिर ठाडो पारेर स्वाभिमानपूर्वक बाँच्नसक्नु हो। अख्तियारका आयुक्तहरूको भ्रष्टाचार बिरूद्दको भेदभावपूर्ण कदमले उहाँहरूको शिर ठड्याएको छ त?’