युट्युबरलाई शिव गाउँलेले भने, ‘तपाई‌ं-हाम्रो भेट जेलमा हुन सक्छ’ (भिडियोसहित)



काठमाडौँ। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले युट्युबरहरुले जे पायो त्यही विषयलाई समाचार बनाउँदै जाने हो भने जेल जानुपर्ने स्थिति आउने चेतावनी दिएका छन्।

अनलाइन टेलिभिजन सञ्चालकहरुले शुक्रबार काठमाडौँँको बानेश्वर स्थित अल्फा हाउसमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार गाउँलेले यस्ताे चेतावनी दिएका हुन्।

खोज पत्रकारिता केन्द्रका सम्पादकसमेत रहेका गाउँलेले भने, ‘अप्ठ्यारो नमान्नु होला, मैले त धेरैजसो युट्युब एकलखे सुनेर आफ्नो माइन्डसेट बनाइरहेको मान्छे परें। यसलाई अनलाइन टिभी, युट्युव पत्रकारिता के भन्ने ? रत्न खत्रीकी श्रीमतीको हत्या, अब यसमा प्रमोद आचार्य के भन्छन् ? भनियो भने यो जर्नालिज्म भयो कि भएन ? कुनै हालतमा भएन। त्यो होइन पत्रकारिता। सरोकारै नभएको मान्छेको के अर्थ छ ? त्यो कहाँको जर्नालिज्म हो?’

गाउँलेलले अगाडि थपे, ‘बडो सजिलोसँग प्रविधिको उपहार, पछिल्लो पुस्ता। अलि बढ्तै गरी यसो गर्दै जाँदा मलाई लाग्छ, खतरा म के देख्छु भने हाम्रो भेट जेलमा हुन्छ। अप्ठ्यारो नमान्नुहोला, म बडो सोचविचार गरेर भन्दैछु, भावनामा भनिरहेको छैन। तपाई‌ंले विवेक प्रयोग नगरिकन जे भेटेको विषयवस्तु पनि मेरो कन्टेन्ट हो भन्न थाल्नुभयो भने मलाई लाग्छ, त्यो दिन टाढा हुँदैन।’

गाउँलेले आफूलाई पत्रकार ठान्नेहरुले पाठक, प्रेस काउन्सिल र अदालतप्रति जवाफदेही हुनुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘आफ्ना सारा कन्टेन्टप्रति हामी दुई-तीनवटा निकायमा जवाफदेही हुनुपर्छ, पहिलो-जनता, आफ्ना पाठक, दर्शक र स्रोताप्रति तपाईं जिम्मेवार हुनैपर्छ, दोस्रो-प्रेस काउन्सिल, जसले हामीलाई पाइला-पाइलामा प्रश्न गर्न सक्छ। र, तेस्रो अदालत। हामी अदालतको जवाफदेहिता भन्दा बाहिर छैनौं।’

गाउँलेले अगाडि भने, ‘मैले दिएँ, दिने काम हो, बाँकी कुरो चल्दै गर्छ भन्ने साह्रै पुरानो अवधारणा हो, सबै कुरालाई अभिव्यक्ति स्वतन्त्रताको बर्को ओढाउने पक्षमा म छैन। व्यवसायिक पत्रकारिता गरेको हो भने मैले कन्टेन्ट दिएँ, बाँकी कुरो अरुको हो भन्न मिल्दैन। त्यसको जिम्मा हामीले लिनुपर्छ।’