काठमाडौँ। समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण बिहिबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरुले निश्पक्ष अनुसन्धान गर्न नसक्ने तर्क उनले गरेका छन्। उनले भने,‘जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा नचलाइएको देखियो। कसैले चोर्यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ?’
उनले अगाडि भने,‘अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपूर्ण छ। कर्मचारी मध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन्। उनीहरु निश्पक्ष ढंगले अनुसन्धान गरी मुद्दा चलाउन पनि सक्दैनन्। हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानुभन्दा नि प्रक्रिया पुर्याउँदै गएर परिबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले बद्मासी गरेको छ, त्यसले प्रक्रिया पूरा गरेर उम्कने। यस्तो नियम कानुनको पनि समस्या छ। ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ। केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भनेर पछि छोड्नुहुन्छ।’