कैलाली। जिल्ला अदालत कैलालीले सामुहिक वलात्कारपछि हत्या प्रकरणमा दोषी देखिएकाहरुलाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो।
कैलाली गौरीगङ्गा नगरपालिका–११ की २१ वर्षीया माया विकको बलात्कारपछि हत्या गरिएको थियो। २०७५ साल असार १२ गते घरबाट कार्यालय हिँडेकी विकको शव असार १५ मा गौरीगङ्गा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा भेटिएको थियो।
पीडित पक्षको उजुरीका आधारमा बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरेको थियो। पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र अपहरण अन्तर्गत मुद्दा चलाइएको थियो।
प्रतिवादीमध्यकै भुवन खाती र सुरज चौधरीलाई ज्यानसम्बन्धी महलको १३ वमोजिम सजाय हुने र जर्वजस्ती करणीमा पनि सजाय हुने अदालतको फैसला छ। यसो हुँदा उनीहरुले जन्मकैदको सजाय भोग्नुपर्ने हुन्छ। त्यस्तै दुई जना अरु प्रतिवादी गणेश बडुवाल र मनोज बोगटीका हकमा ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम कारवाही हुनेछ।
अर्का प्रतिवादी टपेन्द्र वोगटीलाई ज्यानसम्बन्धी महलको १७ ९२० अनुसार ५ वर्ष कैदको फैसला भएको अदालतका सुचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए।
अदालतको फैसलापछि पीडित परिवारले ढिलै भएपनि न्यया पाएको प्रतिकृया दिएका छन्। मायाका ठुलोबुबा खड्ग विकले न्याय मरेको रहेनछ भन्ने अनुभुति भएको बताए।