काठमाडौँ। बिहिबार बसेको प्रतिनिधि सभाको वैठक प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ। काँग्रेसले आफ्ना नेता तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा दायर गरेको भन्दै संसद अवरोध गरको हो।
बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताइन्।
त्यसपछि काँग्रेस सांसदहरुले उठेर संसद अवरुद्ध गरेका थिए। सभामुख अग्नि सापाकोटाले संसदले विभिन्न कानुनहरु बनाउनुपर्ने भन्दै काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेका थिए। तर, कांग्रेसका सांसदहरुले सभामुखको आग्रहलाई अस्वीकार गरेपछि बैठक स्थगित भएको हो। सभामुख सापकोटाले अर्को वैठक शुक्रबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका थिए।