काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ। बालुवाटार जग्गा प्रकरण गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद निलम्बनमा परेको हो।
गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। भ्रष्टचारको मुद्धा दायर भएसँगै सांसद र केन्द्रीय सदस्यको पद गच्छदारको निलम्बनमा परेको छ।
बालुवाटार जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउन भूमिका खेलेको अभियोगमा गच्छदारलाई दोषी ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो। काँग्रेस संसदीय दलकोे उपनेतासमेत रहेका गच्छदार आफूविरुद्धको मुद्दा अन्तिम नटुंगिएसम्म सांसदको हैसियतमा संसदमा उपस्थित हुने पाउने छैनन्।
यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन करिब सकिने छ। राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा पूर्वउपप्रधानमन्त्री गच्छदारसहित दुई पूर्वमन्त्री र तीन पूर्वसचिवसमेत १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ।
ललिता निवासको ११४ रोपनी जग्गा कब्जा गरेको आरोपमा अदुअआले उनीहरूविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
पूर्वसचिवहरूमध्ये अख्तियारको प्रमुख आयुक्त भइसकेका दीप बस्न्यात र पूर्वसचिव छविराज पन्त दुबैसँग जनही ९ करोड ६५ लाख ७६ हजार विगो मागिएको छ। सचिव हुँदा भ्रष्टाचार गरेको अभियोग लागेका बस्न्यात अवकाशपछि अदुअआका पूर्व प्रमुख आयुक्त र पन्त मन्त्री बनेका थिए। अर्का पूर्वसचिव एवं गीतकार दिनेश अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार बिगो तोकिएको छ।